• २ असार २०८३, मंगलबार
  • १:२६ बिहान

सानिगाड हाइड्रोको आईपीओ आज बाँडफाँट हुँदै, लाखौं लगानीकर्ताको नजर नतिजातर्फ

प्रकाशित मिति

२०८३ असार १ गते, सोमबार १०:३३

१ असार २०८३ काठमाडौं – सानिगाड हाइड्रोपावर लिमिटेड को प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आज बाँडफाँट हुने भएको छ ।कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड ले सोमबार बिहान १० बजे नयाँ बानेश्वरस्थित आफ्नै कार्यालयमा आईपीओ बाँडफाँट गर्ने जनाएको छ ।

कम्पनीले सर्वसाधारणका लागि जेठ १८ गतेदेखि २१ गतेसम्म ४६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । निष्कासनमा मागभन्दा धेरै आवेदन परेकाले शेयर गोलाप्रथामार्फत बाँडफाँट गरिनेछ ।

Kamana Sewa

सानिगाड हाइड्रोले २ अर्ब ८५ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणका लागि निष्कासन गर्न अनुमति पाएको थियो । कुल सार्वजनिक निष्कासनमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि २८ लाख ५० हजार कित्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५ लाख ७० हजार कित्ता शेयर छुट्याएर बिक्री तथा बाँडफाँट गरिसकेको छ ।

Classic Tech Desktop

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि चैत ८ देखि ११ गतेसम्म र आयोजना प्रभावित स्थानीयका लागि चैत ८ देखि २५ गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो । उक्त शेयर क्रमशः चैत २२ गते र वैशाख २४ गते बाँडफाँट भइसकेको छ ।

यसका अतिरिक्त १ लाख ७१ हजार कित्ता शेयर कर्मचारीका लागि तथा २ लाख ८५ हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । बाँकी रहेको शेयर आज सर्वसाधारणमा बाँडफाँट गर्न लागिएको हो ।

कम्पनीले बझाङ जिल्लामा ३८.४६ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७९ फागुन ६ गतेदेखि व्यावसायिक विद्युत उत्पादन गर्दै आएको छ । आईपीओमा उच्च आवेदन परेकाले अधिकांश आवेदकले गोलाप्रथामार्फत मात्रै शेयर प्राप्त गर्ने सम्भावना रहेको छ ।

प्रतिकृया