• ४ साउन २०८३, सोमबार
  • २:४० बिहान

सक्षम सांसद बनाउन रास्वपाको सघन प्रशिक्षण आज समापन हुँदै

प्रकाशित मिति

२०८३ बैशाख २७ गते, आईतवार १०:१५

२७ बैशाख २०८३ काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको ‘सक्षम सांसद, सशक्त संसद्’ संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम आज समापन हुँदैछ । शनिबारदेखि ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा सुरु भएको दुईदिने प्रशिक्षणको अन्तिम दिन आज राजनीतिक आचरण, कूटनीति तथा आगामी निर्वाचन तयारीका विषयमा केन्द्रित रहनेछ ।

आजको सत्रमा सचेतक क्रान्तिशिखा धितालले राजनीतिक मनोविज्ञान, व्यवहार तथा उच्च नैतिक आचरणबारे प्रशिक्षण दिने कार्यक्रम रहेको छ । यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध र राजकीय मर्यादाका प्राविधिक पक्षबारे जानकारी गराउनेछन् ।

Kamana Sewa

सह-महामन्त्री विपिन कुमार आचार्यले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको वैज्ञानिक आधार र पार्टीको आन्तरिक तयारीसम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची रहेको बताइएको छ ।

Classic Tech Desktop

प्रशिक्षणको समापन सत्रमा पार्टी सभापति रवि लामिछानेले विशेष निर्देशनात्मक मन्तव्य दिने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । रास्वपाले यस प्रशिक्षणले सांसदहरूलाई संसदीय मर्यादा कायम राख्दै जनसरोकारका विषयमा अझ प्रभावकारी र सशक्त रूपमा प्रस्तुत हुन आवश्यक ऊर्जा तथा ज्ञान प्रदान गर्ने विश्वास व्यक्त गरेको छ ।

प्रशिक्षणको पहिलो दिन सदन र सरकारबीचको अन्तरसम्बन्ध तथा संसदीय प्रक्रियामा केन्द्रित छलफल गरिएको थियो । महामन्त्री भूपदेव शाहले पार्टी, सरकार र सदनबीचको समन्वयकारी सम्बन्धबारे प्रशिक्षण दिएका थिए भने संसदीय दलका उपनेता गणेश पराजुलीले संसदीय समितिमा सांसदको भूमिकाबारे धारणा राखेका थिए । त्यसैगरी सांसद निशा डाँगीले संसदीय अभ्यास र दलीय समन्वयमा सचेतकको भूमिकासम्बन्धी अनुभव प्रस्तुत गरेकी थिइन् ।

प्रतिकृया