सरकारको कडा निर्देशन: २४ घण्टाभित्र सबै विमानस्थलमा स्तनपान कक्ष अनिवार्य
प्रकाशित मिति
२०८२ चैत्र २८ गते, शनिबार ०९:३०
२८ चैत,२०८२ काठमाडौं – सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सहित देशभरका सबै विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाह कक्ष स्थापना गर्न निर्देशन दिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ले जारी गरेको निर्देशनअनुसार विमानस्थलहरूमा सरसफाइ, सुरक्षा र गोपनीयता सुनिश्चित हुने गरी स्तनपान कक्ष सञ्चालन गर्नुपर्नेछ।
आवश्यकताअनुसार ती कक्षहरूको स्तरोन्नति गर्न र बिरामी तथा विशेष आवश्यकता भएका यात्रुका लागि प्राथमिक हेरचाह कक्ष पनि सञ्चालन गर्न भनिएको छ। मन्त्रालयले विमानस्थलको सरसफाइलाई अन्तरराष्ट्रिय मापदण्डअनुरूप बनाउन, दैनिक सरसफाइको ‘लगबुक’ प्रणाली लागू गर्न र विश्व स्वास्थ्य सङ्गठन तथा अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन ले तोकेका स्वास्थ्य मापदण्ड अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको छ।
त्यस्तै, महिला यात्रुका लागि शौचालयमा निःशुल्क स्यानिटरी प्याडको व्यवस्था गर्न पनि भनिएको छ। मन्त्रालयले सबै निर्देशन कार्यान्वयन गरी प्रगति विवरण उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ। साथै, आम नागरिक तथा यात्रुलाई पनि यी व्यवस्था कार्यान्वयन भए–नभएकोबारे मन्त्रालयका सूचना अधिकारीलाई जानकारी गराउन आह्वान गरिएको छ।
मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला द्वारा जारी निर्देशनमा विमानस्थल सेवाको गुणस्तर सुधार र यात्रुको सहजताका लागि यस्तो कदम चालिएको उल्लेख गरिएको छ।






प्रतिकृया