• ३ साउन २०८३, आइतबार
  • ५:३६ बेलुका

मालपोत कार्यालय पर्सा प्रकरण : २ करोड ९३ लाख हिनामिना आरोपमा पाँच कर्मचारीविरुद्ध मुद्दा

प्रकाशित मिति

२०८२ चैत्र १९ गते, बिहीबार ११:५९

१९ चैत,२०८२ काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्सामा भएको ठूलो राजस्व हिनामिनाको प्रकरणमा पाँच जना कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दर्ता गर्दै करिब २ करोड ९३ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भएको दाबी गरेको हो।

आयोगका अनुसार आर्थिक वर्ष २०७०/७१ मा मालपोत कार्यालय पर्साको रजिस्ट्रेसन फाँट ‘ग’ मा गम्भीर अनियमितता भएको पाइएको छ। अनुसन्धानका क्रममा एउटै नम्बरलाई दोहोरो तथा तेहेरो प्रयोग गरी एकभन्दा बढी लिखत पारित गरिएको खुलासा भएको छ।

Kamana Sewa

त्यस्तै, कम राजस्व देखिएका लिखतहरू मात्र बैंकमा दाखिला गर्ने र उच्च राजस्व उठ्ने लिखतबाट प्राप्त रकम लेखा शाखामा दाखिला नगरिएको तथ्य पनि फेला परेको आयोगले जनाएको छ।

Classic Tech Desktop

यसरी कुल २ करोड ९३ लाख ६८ हजार ५ सय ६५ रुपैयाँ बराबरको राजस्व हिनामिना भएको निष्कर्ष निकालिएको छ।

उक्त प्रकरणमा तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूपबहादुर बोगटी, पदमप्रसाद अर्याल र सुरेन्द्रप्रसाद राव कुर्मीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो बराबरको कैद र दोब्बर जरिवाना माग गरिएको छ।

यसैगरी, स्वर्गीय नायब सुब्बा किरणप्रसाद उपाध्यायको हकमा उनका हकदारहरू राजकिशोर, गौतम, पशुपति र मुरारी प्रसाद उपाध्यायबाट हिनामिना भएको रकम असुलउपर गर्न माग गरिएको आयोगले जनाएको छ।

आयोगले घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

प्रतिकृया