टिकटक बनाउनेलाई सुनौलो अवसर : निर्वाचन आयोगको भिडियो प्रतियोगिता घोषणा
प्रकाशित मिति
२०८२ फाल्गुन ८ गते, शुक्रबार १०:१७
फाल्गुण ८, २०८२ काठमाडौँ- निर्वाचन आयोग ले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै टिकटक भिडियो प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरेको छ। राष्ट्रिय महत्त्वको निर्वाचनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न तथा मतदाता शिक्षालाई प्रभावकारी बनाउन उक्त अभियान सुरु गरिएको आयोगले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुकले निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षासम्बन्धी विषयमा आधारित करिब एक मिनेटको भिडियो तयार गरी आफ्नै सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नेछ। सोही भिडियो फागुन १७ गतेभित्र आयोगको इमेलमा समेत पठाउनुपर्ने व्यवस्था गरिएको छ।
आयोगका अनुसार प्राप्त भिडियोमध्ये सबैभन्दा धेरै भ्युज प्राप्त गर्ने तीन वटा भिडियोलाई पुरस्कार प्रदान गरिनेछ। पहिलो हुनेलाई ५० हजार रुपैयाँ, दोस्रोलाई ३० हजार रुपैयाँ र तेस्रोलाई २० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ।
भिडियो प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा तयार गरिएको हुनुपर्नेछ। सामग्री संवादात्मक, सन्देशमूलक र सिर्जनात्मक हुनुपर्नेछ भने मौलिक अडियो, प्रस्तुति तथा अभिनयलाई प्राथमिकता दिइने आयोगले जनाएको छ।
निर्वाचनको आवश्यकता र महत्व, मतपत्रमा सही तरिकाले छाप लगाउने विधि, आचारसंहिता पालना, मतदाताको अधिकार र कर्तव्य तथा योग्य उम्मेदवार छनोटजस्ता विषय समेट्नुपर्नेछ। सहभागीले कुनै एक विषयमा एक मात्र भिडियो पठाउन सक्नेछन् भने दुई वा सोभन्दा बढी व्यक्तिले समूहगत रूपमा समेत भिडियो निर्माण गर्न सक्नेछन्।
प्राप्त सबै भिडियोमाथि आयोगको अधिकार रहनेछ र आवश्यक ठानेमा आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत प्रसारण गर्न सकिने जनाइएको छ। तोकिएको मापदण्ड पूरा नगरेका वा समयसीमा नाघेर प्राप्त भएका भिडियो भने स्वीकार गरिने छैनन्।
उत्कृष्ट भिडियोको छनोट स्वतन्त्र विज्ञ तथा आयोगको संयुक्त मूल्यांकनबाट गरिने सूचनामा उल्लेख गरिएको छ।








प्रतिकृया