काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा, एक्युआई १९२ पुग्यो
प्रकाशित मिति
२०८२ माघ २८ गते, बुधबार ०५:४९
२८ माघ,२०८२ काठमाडौं – काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थ तहमा कायम रहेको छ। वातावरण विभागका अनुसार आज मध्याह्नसम्म उपत्यकाको एयर क्वालिटी इन्डेक्स (एक्युआई) १९२ मापन गरिएको छ, जुन सबैका लागि अस्वस्थ श्रेणीमा पर्छ।
यसअघि आइतबार १७५ एक्युआई मापन गरिएको थियो। पछिल्ला दिनमा वर्षा नहुनु र हावा नचल्नुका कारण वायुमण्डलमा प्रदूषकतत्व थुप्रिँदै गएको विभागले जनाएको छ।
विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार काठमाडौँ उपत्यका कचौरा आकारको भू–बनोटमा रहेकाले हावाको बहाव कम हुँदा धुवाँधुलो बाहिर निस्कन सक्दैन। उद्योग, कलकारखाना, सवारी साधनको धुवाँ, विकास निर्माणका गतिविधि तथा सीमापारबाट भित्रिने प्रदूषणले समेत हावाको गुणस्तर बिगारेको उनले बताए।
विज्ञहरूका अनुसार १५१ देखि २०० एक्युआई सबैका लागि अस्वस्थ मानिन्छ भने श्वासप्रश्वास र मुटुसम्बन्धी समस्या भएका बिरामी, बालबालिका र ज्येष्ठ नागरिकले विशेष सावधानी अपनाउनुपर्ने हुन्छ। वर्षा नभएसम्म प्रदूषणको मात्रा अझै बढ्न सक्ने चेतावनीसमेत दिइएको छ।








प्रतिकृया