तयारीबिनाका आयोजना र मन्त्रालयको कमजोरीले वित्तीय अनुशासनमा समस्या: अर्थमन्त्री खनाल
प्रकाशित मिति
२०८२ माघ २८ गते, बुधबार १०:४४
२८ माघ,२०८२ काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले बजेट तर्जुमा प्रक्रियामा सम्बन्धित मन्त्रालयहरूले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्दा मुलुकको वित्तीय अनुशासन र भुक्तानी प्रणालीमा गम्भीर समस्या देखिएको बताएका छन्। अर्थ मन्त्रालयमा मंगलबार आयोजित आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन्।
उनका अनुसार बजेट बनाउँदा पर्याप्त तयारीबिनाका आयोजनाहरू समावेश गरिँदा वित्तीय प्रणालीमा दबाब बढेको छ। टुक्रे आयोजनालाई बजेटमा समेट्दा पुँजीगत बजेट खर्च हुन नसकेको र स्वास्थ्य मन्त्रालयजस्ता निकायका करिब ३० अर्ब रुपैयाँ बराबरको भुक्तानी दायित्वसमेत पूरा गर्न नसकिने अवस्था आएको उनले बताए।
“भुक्तानी दिन बाँकी रहने गरी बजेट बनाउनु हुँदैन भन्ने कुरा यसपटकको मुख्य सिकाइ हो,” अर्थमन्त्री खनालले भने।
सरकारको खर्च गर्ने संस्थागत क्षमतामा समेत कमजोरी देखिएको उनको भनाइ छ। ३५ अर्ब रुपैयाँ कार्य सञ्चालन बजेट भएको मन्त्रालयले पनि करिब पाँच प्रतिशत मात्र खर्च गर्न सकेको र झण्डै ८० अर्ब रुपैयाँका आयोजनाहरू अझै तयारी अवस्थामा नरहेको तथा टेन्डर प्रक्रियामा जान नसकेको तथ्य सार्वजनिक गरिएको छ। चालु खर्च करिब ९५ प्रतिशत पुगे पनि पुँजीगत खर्च भने अत्यन्तै न्यून रहेको उल्लेख गरिएको छ।
यद्यपि आर्थिक वर्षका बाँकी तीन महिना—वैशाख, जेठ र असारमा खर्च र कामको गति बढ्ने तथा केही सुधार आउने अपेक्षा गरिएको अर्थमन्त्री खनालले बताएका छन्। नयाँ सरकारले विगतका कमजोरी सुधार्दै प्रभावकारी रूपमा काम गर्ने विश्वाससमेत उनले व्यक्त गरे।








प्रतिकृया