समानुपातिक उम्मेदवारमा १६४ जनाले नाम फिर्ता लिए
प्रकाशित मिति
२०८२ पुष २९ गते, मंगलवार ०२:०६
२९ पुस,२०८२ काठमाडौं – विभिन्न राजनीतिक दलको समानुपातिक सूचीमा रहेका १६४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार फिर्ता लिएका उम्मेदवारको ठाउँमा सम्बन्धित दलले अर्को व्यक्तिको नाम पठाउनेछ ।
सबैभन्दा धेरै लोकतान्त्रिक समाजवादी पार्टीका ७८ जना र जनता समाजवादी पार्टी नेपालका २१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यी दुई दलबीच हालै एकता भइसकेको छ, जसकारण लोसपाका उम्मेदवार फिर्ता लिएर जसपाको सूचीमा समावेश गरिएको छ ।
अन्य दलहरूमध्ये जनमत पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १२, जनादेश पार्टी नेपालका ६, नेकपा एमालेका ५, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र राष्ट्र निर्माण दलका ४–४ जना उम्मेदवारले फिर्ता लिएका छन् । यसबाहेक विभिन्न साना दलका १–२ जना उम्मेदवारले पनि नाम फिर्ता लिएका छन् ।
निर्वाचन आयोगले नयाँ नाम समावेश गरी माघ ४ गते बन्दसूची प्रकाशन गर्नेछ । दाबी–विरोध उजुरी माघ ५ देखि १० गतेसम्म गर्न सकिनेछ भने आयोगले माघ ११ देखि १७ गतेसम्म अध्ययन गरी आवश्यक संशोधन माघ १९ मा प्रकाशन गर्नेछ । अन्ततः समानुपातिक उम्मेदवारको अन्तिम सूची माघ २० मा सार्वजनिक हुनेछ ।
प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ मा हुँदैछ, जसअन्तर्गत २७५ सदस्यीय सभामा प्रत्यक्ष तर्फ १६५ र समानुपातिक तर्फ ११० जना निर्वाचित हुनेछन् । प्रत्यक्ष चुनावका मनोनयन दर्ता माघ ६ देखि सुरु हुनेछ ।








प्रतिकृया