नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजबाट सुरु
प्रकाशित मिति
२०८२ मंसिर २७ गते, शनिबार ०८:२८
मंसिर २७,२०८२ काठमाडौं— नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदै छ। महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा हुने छ भने बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन गरिनेछ।
काठमाडौं उपत्यकाको सांस्कृतिक झल्को दिने गरी तयार पारिएको मञ्चबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोट कन्ट्रोलमार्फत महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। एमालेका अनुसार उद्घाटन समारोह मध्याह्नपछि सुरु हुनेछ।
महाधिवेशनमा सहभागी हुन देशभरबाट नेता तथा कार्यकर्ता काठमाडौं उपत्यकामा आइसकेका छन्। जेनजी आन्दोलनका कारण सरकारबाट बाहिरिनुपरेको तीन महिनापछि हुन लागेको महाधिवेशनलाई भव्य र सानदार बनाइने एमालेले जनाएको छ।
उद्घाटन समारोहअघि काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट जुलुस निकालिने छ। ती जुलुस सल्लाघारीमा पुगेर सभामा परिणत हुनेछन्।
सल्लाघारीमा उद्घाटन समारोह सम्पन्न भएपछि भृकुटीमण्डपमा बन्दसत्र सुरु हुनेछ। बन्दसत्रबाट पार्टीको नयाँ नेतृत्व चयन गरिनेछ। अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ।
बन्दसत्रमा वरिष्ठ उपाध्यक्ष पोखरेलले छुट्टै दस्तावेज प्रस्तुत गर्ने तयारी गरेका छन्। हिजो बेलुका बसेको एमाले सचिवालय बैठकले पोखरेललाई दस्तावेज पेस गर्न अनुमति दिने तर त्यसमा औपचारिक छलफल नगर्ने निर्णय गरेको जनाएको छ।








प्रतिकृया