रवि र छविको सुनुवाइ फेरि स्थगित
प्रकाशित मिति
२०८२ मंसिर ११ गते, बिहीबार १२:११
मंसिर ११, २०८२ काठमाडौं – बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी तथा संगठित अपराध मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ।
न्यायाधीश मिलनकुमार राई र सानुमैया डंगोलको इजलासमा पेशी तोकिए पनि लामिछाने पक्षका कानून व्यवसायीले स्थगित गर्न माग गरेपछि आजको सुनुवाइ पर सरिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए।
यसअघि पाटन उच्च अदालतमा समेत पेशी परेकाले बुटवलस्थित इजलासको सुनुवाइ पनि स्थगित हुँदै आएको छ। सर्वोच्च अदालतमा रहेको मुल अभियोगको मिसिल मागाउने आदेश भए पनि सक्कल फाइल नआएपछि निरन्तर रूपमा सुनुवाइ सारिँदै आएको हो।
सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछाने र छविलाल जोशीसहितका प्रतिवादीमाथि १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो तोकिएको छ। दुवैले आफ्नो हिस्साबापत २ करोड ७४ लाख ८४ हजार रुपैयाँ जमानतका रूपमा पेस गरे पनि जिल्ला अदालतले बिगो यकिन नहुने आधारमा रिहा नगर्ने निर्णय गरेको थियो।
हाल रवि लामिछाने नख्खु कारागारमा र जोशी भैरहवा कारागारमा छन्।






प्रतिकृया