९ बुँदे सहमति कार्यान्वयन र सरुवा निर्देशिका खारेज गर्न शिक्षक महासंघको माग
प्रकाशित मिति
२०८२ मंसिर १० गते, बुधबार ०९:२९
मंसिर १०, २०८२ काठमाडौं – नेपाल शिक्षक महासंघले अघिल्लो सरकारले गरेको ९ बुँदे सहमति कार्यान्वयन गर्न तथा हाल जारी गरिएको सरुवा निर्देशिका खारेज गर्न शिक्षा मन्त्रालयसँग माग गरिएको छ। महासंघको नेतृत्वमा गएको टोलीले शिक्षामन्त्री महावीर पुनलाई भेटेर आफ्ना मागहरू औपचारिक रूपमा प्रस्तुत गरेको हो।
महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार मन्त्रीसँगको भेटमा सरुवा निर्देशिका खारेज, गत वैशाखमा भएको ९ बुँदे सहमति कार्यान्वयनका लागि आवश्यक पत्राचार, शिक्षकलाई उपलब्ध हुनुपर्ने स्थानीय भत्तालगायत विभिन्न विषयमा अविलम्ब कदम चाल्न आग्रह गरिएको छ।
गत चैत–वैशाख महिनामा शिक्षकहरूले काठमाडौंमा गरेको आन्दोलनपछि सरकारले महासंघसँग ९ बुँदे सहमति गरेको थियो। सहमतिमा असारभित्रै शिक्षा ऐन जारी गर्ने लगायतका महत्वपूर्ण बुँदाहरू समावेश थिए। तर ती सहमति आजसम्म पनि पूर्ण रूपमा कार्यान्वयन नभएको शिक्षकहरूको गुनासो छ।
यस्तै, २०८१ जेठमा शिक्षा मन्त्रालयले जारी गरेको सरुवा निर्देशिका व्यवहारिक नभएको भन्दै शिक्षकहरूले यसको खारेजीको माग दोहोर्याएका छन्। महासंघले निर्देशिका शिक्षकहितविरुद्ध रहेको र स्थानीय तहमा थप जटिलता सिर्जना गरेको आरोप लगाएको छ।






प्रतिकृया