बालाचतुर्दशीमा पितृ तर्पण गर्दै पशुपतिमा शतबीज छरियो
प्रकाशित मिति
२०८२ मंसिर ३ गते, बुधबार ०९:१५
मंसिर ३, २०८२ काठमाडौं— बालाचतुर्दशी पर्वअन्तर्गत आज बिहान भक्तजनहरूले पशुपति मन्दिर परिसरका विभिन्न पवित्र स्थलमा शतबीज छरेका छन्। अघिल्लो दिन पितृका नाममा अखण्ड महादीपदान गरी जाग्राम बसेका श्रद्धालुहरू बिहानै उठेर पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने विधान निर्वाह गरेका हुन्।
चलनअनुसार त्रयोदशीको साँझदेखि दिवंगत पितृका नाममा बत्ती बालेर रातभर पूजा–ध्यान गरिन्छ। भोलिपल्ट चतुर्दशीका दिन धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनो गरी सात प्रकारका अन्न मिसाइएको शतबीज पशुपति क्षेत्रका एक सय आठ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, मृगस्थली, विश्वरूप, किराँतेश्वरलगायत स्थानमा छर्ने परम्परा छ।
शतबीज छर्दै मृगस्थलीस्थित बहिरा गणेशस्थानमा पुग्दा भक्तजनहरूले गणेशको शिलालाई हल्का हल्लाउँदै दिवंगत आत्माले सन्देश प्राप्त होस् भनी ठूलो स्वरमा आह्वान गर्ने प्रचलन आज पनि निभाइयो।
देशका विभिन्न क्षेत्रबाट भक्तजनहरू प्रत्येक वर्षझैँ यस वर्ष पनि ठूलो संख्यामा पशुपति क्षेत्र पुगेका छन्। मार्गशीर्ष कृष्ण त्रयोदशीको बिहानदेखि नै पशुपति क्षेत्रमा ठूलो भीड देखिएको छ।
बालाचतुर्दशी पर्वको अवसरमा भक्तजनहरूले भक्तपुरको डोलेश्वर महादेव, ज्योतिर्लिङ्गेश्वर–गोकुलधाम, चितवनको देवघाटलगायत स्थानहरूमा पनि आज बिहान शतबीज छरेर पितृहरूको मोक्षकामना गरेका छन्।






प्रतिकृया