प्रधानमन्त्री कार्कीः जेनजी आन्दोलनले देशलाई ठूलो क्षति पुर्यायो, सबै मिलेर पुनर्निर्माण गर्न आवश्यक
प्रकाशित मिति
२०८२ भाद्र २९ गते, आईतवार ०१:००
भदौ २९ ,२०८२ काठमाडौं – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले जेनजी युवाहरूको आन्दोलनले देशलाई ठूलो क्षति पुर्याएको बताएकी छन्। पदभार ग्रहण गरेलगत्तै कर्मचारी र पत्रकारलाई सम्बोधन गर्दै उनले आन्दोलनका क्रममा केही व्यक्तिहरूले राज्यलाई ठुलो नोक्सानी पुर्याएको र भौतिक सम्पत्तिसहित अत्यन्तै महत्वपूर्ण प्रमाणसमेत जलाइएको भन्दै घटनालाई गम्भीर भन्दै भनिन्, “वर्षौंदेखिको सिंहदरबार जलेको छ, भौतिक क्षति ठूलो छ। तर आवश्यक प्रमाण जलेको कारण अहिले हामी न्यून अवस्थामा पुगेका छौं।”
आन्दोलनमा देशका महत्वपूर्ण क्षेत्रहरूमा आगजनी भएको छ। सिंहदरबार, सुरक्षाकर्मी र सर्वोच्च अदालतमा प्रहार गरिएको उनले बताइन्। उनले यस्तो अवस्थालाई लाजलाग्दो भनेकी छन्। “नेपाली नै भएर यो घटनालाई देखेर लाज लागेको छ। हाम्रो संस्थाहरू अनुहार देखाउने अवस्थामा छैनन्,” उनले भनिन्।
उनले घटनामा संलग्नहरूलाई छोडिने छैन भन्दै चेतावनी दिइन्। साथै, आफू कुनै सत्ताको लोभमा नभई जनताको मागअनुसार नेतृत्वमा आएको र छ महिनाभित्र चुनाव गरिने घोषणा पनि गरिन्।
प्रधानमन्त्री कार्कीले ज्यान गुमाउने सबैलाई शहीद घोषणा गरिएको र प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइने जानकारी दिइन्। घाइतेहरूको उपचारमा राहत र मृतकका शव स्थानीय तहसम्म पुर्याउने खर्चसमेत सरकारले व्यहोर्ने छ।
उनले निजी क्षेत्र, व्यवसायी र उद्योगीहरूको सम्पत्तिमा भएको क्षतिप्रति पनि सरकारको सहयोग रहने बताए। “आतङ्कका बीच पनि मनोबल उच्च बनाएका व्यवसायीहरुलाई सरकारले सहयोग गर्नेछ,” उनले भनिन्।
प्रधानमन्त्री कार्कीले सबै मिलेर देश निर्माणमा अघि बढ्नुपर्ने र जनस्तरबाटै संरचना बनाउनुपर्नेमा जोड दिँदै, जेनजी युवाहरूको लक्ष्य समान आर्थिक समावेश र भ्रष्टाचारमुक्त देश भएको भन्दै त्यसको सम्मान गर्नुपर्ने बताइन्।








प्रतिकृया