माग पूरा गर्ने सहमति भएपछि कैलाली कारागार पीडित परिवार शव बुझ्न सहमत
प्रकाशित मिति
२०८२ श्रावण २६ गते, सोमबार ०६:०८
श्रावण २६,२०८२ कैलाली — कैलाली कारागारमा भएको हिंसात्मक आक्रमणमा मारिएका धनगढी उपमहानगरपालिका–४ का ३७ वर्षीय भरत चौधरीको शव आफन्तहरूले बुझ्ने भएका छन्।
जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगन हमालसहितको छलफलमा परिवारका माग सम्बोधन गर्ने सहमति भएपछि उनीहरू शव बुझ्न तयार भएका हुन्।
मृतकका आफन्तले हत्यामा संलग्न कैदीबन्दीको पहिचान गरी तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने र मृतककी १५ वर्षीया छोरीलाई सरकारले निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने माग राखेका थिए। सीडीओ हमालले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि सहमति बनेको मृतकका भाइ विजय चौधरीले बताए।
छलफलपछि मृतक परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका छन्। प्रहरी प्रमुख बाल नरसिंह राणाका अनुसार जाहेरी दर्ता भइसकेको र पोस्टमार्टम प्रक्रिया सुरु भएको छ।
लागुऔषध मुद्दामा ६ महिना कैद भुक्तान गरिरहेका चौधरीको गत शुक्रबार कारागारभित्र कैदी समूहबीचको झडपमा मृत्यु भएको थियो। कारागारको पुरुष ‘ए’ ब्लकका कैदीबन्दीले भित्तो फुटाएर ‘बी’ ब्लकमा रहेका चौधरीसहित ४९ जना कैदीमाथि आक्रमण गरेका थिए।
घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ, जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला प्रशासनका प्रतिनिधि रहेका छन्। समितिलाई १० दिनभित्र प्रतिवेदन दिन निर्देशन दिइएको छ।
यसअघि सुदूरपश्चिम प्रदेश सरकारले मृतकको परिवारलाई ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिसकेको छ। धनगढी उपमहानगरपालिकाले मृतककी छोरीलाई निःशुल्क शिक्षा दिने र अन्य संघ–संस्थामार्फत सहयोग जुटाउने प्रतिवद्धता जनाएको छ।








प्रतिकृया