• २१ असोज २०८३, बुधबार
  • ५ः१५ बिहान

प्रधानमन्त्री ओली मन्त्री फेरबदलको तयारीमा, आज सत्ता साझेदारबीच बालुवाटारमा छलफल

प्रकाशित मिति

२०८२ श्रावण १५ गते, बिहीबार ११:५६

श्रावण  १५, २०८२ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनर्गठनको तयारी गरेका छन्। त्यसका लागि उनले आज सत्ता साझेदार नेपाली कांग्रेससँग बालुवाटारमा छलफल गर्न लागेका छन्। प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने बैठकमा एमाले र कांग्रेसका शीर्ष नेताहरू सहभागी हुनेछन्।

National Life

प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहित सत्ता साझेदार दुई दलका नेताहरूबीच मन्त्रिपरिषद् पुनर्गठनबारे गम्भीर छलफल हुने स्रोतको भनाइ छ। बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक पनि सहभागी हुने बताइएको छ।

प्रधानमन्त्री ओलीले विशेष गरी आफ्नै पार्टीबाट नियुक्त केही विवादित मन्त्रीहरू हटाउने तयारी गरेका हुन्। एमाले स्रोतका अनुसार रक्षामन्त्री मानवीर राई, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी फेरिने सम्भावना बढी छ।

Classic Tech Mobile
Classic Tech Desktop

कतिपय मन्त्रीलाई सुरुमा नियुक्त गर्ने बेलै एक वर्षका लागि मात्रै भन्ने समझदारी गरिएको र केहीको काम सन्तोषजनक नभएको भन्दै ओलीले बिदा दिन लागेका हुन्। भूमि मन्त्री अधिकारीको नाम सार्वजनिक एउटा अडिओमा घुस मागेको आरोपसमेत लागेपछि उनको पद सुरक्षामा अन्योल उत्पन्न भएको छ।

हाल मन्त्रिपरिषद्मा एमालेबाट प्रधानमन्त्रीसहित ९ जना मन्त्री छन्। यता सत्ता साझेदार कांग्रेस भने हाल आफ्ना मन्त्रीहरूमा फेरबदलको तयारीमा नरहेको देखिएको छ। आजको बैठकबाट मन्त्री हेरफेरको प्रक्रिया औपचारिक रुपमा अघि बढ्ने अपेक्षा गरिएको छ।

प्रतिकृया