१ अर्ब ५० करोड बराबरको क्रिप्टोकरेन्सी कारोबार गर्ने दुई भारतीय पक्राउ
प्रकाशित मिति
२०८२ असार २४ गते, मंगलवार ०६:०३
असार २४, २०८२ काठमाडौं । ललितपुरको सानेपाबाट अवैध रुपमा क्रिप्टोकरेन्सी र हुण्डि कारोबार सञ्चालन गर्दै आएका दुई भारतीय नागरिक पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को विशेष टोलीले असार २३ गते ललितपुर–२ कालोपुलस्थित ‘राजतिर्थ ट्रेडर्स’ नामक किराना पसलको आवरणमा सञ्चालित अवैध आर्थिक गतिविधिमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारत बिहार राज्य मोतिहारीका ४३ वर्षीय रुपेश कुमार गुप्ता र पूर्वी चम्पारण बिजबनीका २२ वर्षीय विपिन कुमार रहेका छन्। गुप्ताले किराना पसलको आडमा हुण्डि कारोबार र क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा) कारोबार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले उनीहरूबाट नेपाली रुपैयाँ ८ लाख २० हजार, भारतीय रुपैयाँ १० हजार, पाँच थान मोबाइल, सीसीटिभी डीभीआर एक थान र संरक्षित वन्यजन्तु कस्तुरीजस्तो देखिने ७४ ग्राम तौलको अवैध वस्तु पनि बरामद गरेको छ ।

उनीहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४ को अभौतिक मुद्रा प्रयोग गर्न नपाइने, हुण्डि कारोबार गर्न नपाइने तथा बन्यजन्तुसम्बन्धी कसूरअन्तर्गत अनुसन्धान अगाडि बढाइएको सीआईबीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूले १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकमको डिजिटल मुद्रामा कारोबार गरेको खुल्न आएको छ ।
प्रहरी स्रोतका अनुसार डिजिटल क्रिप्टोकरेन्सी प्लेटफर्मको प्रयोगमार्फत उनीहरूले अन्तर्राष्ट्रिय स्तरमा अवैध धन आपूर्ति र स्थानान्तरणमा संलग्न रहेको शंका गरिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको र डिजिटल ट्रान्स्याक्सनको विस्तृत फरेन्सिक विश्लेषण जारी रहेको सीआईबीले जनाएको छ ।




प्रतिकृया