कतारको अल उदेद एयर बेसमाथि इरानी क्षेप्यास्त्र आक्रमणपछि जनजीवन सामान्य बन्दै
प्रकाशित मिति
२०८२ असार १० गते, मंगलवार ०९:५५
असार १० , २०८२ काठमाडौं । इरानले कतारस्थित अमेरिकाको अल उदेद एयर बेसमाथि क्षेप्यास्त्र आक्रमण गरेपछि उत्पन्न तनावका बीच कतारमा जनजीवन बिस्तारै सामान्य बन्दै गएको छ। कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीका अनुसार हिजो बेलुकी भएको आक्रमणपछि स्थिति नियन्त्रणमा रहेको र जनजीवनमा सामान्यता फर्किन थालेको छ।
दोहा न्यूजले जनाएअनुसार, कतारले हाललाई कुनै गम्भीर खतरा नरहेको भन्दै आफ्ना नागरिकलाई त्रसित नहुन आह्वान गरेको छ। यसैबीच, कतारले अस्थायी रूपमा बन्द गरेको हवाई क्षेत्र पुनः खोलिएको छ। इरानले अमेरिकी आणविक साइटमाथि भएको हमलाको जवाफस्वरूप कम्तीमा छ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो। तीमध्ये एक मात्रै अमेरिकी बेसभित्र खसेको र बाँकी क्षेप्यास्त्रहरू कतारको वायु प्रतिरक्षा प्रणालीले नष्ट गर्न सफल भएको कतारी अधिकारीहरूको दाबी छ।

इरान–इजरायलबीच बढ्दो तनावको पृष्ठभूमिमा कतारले सुरक्षा सतर्कता अझै कडा बनाएको छ। इरानको आक्रमणसँगै इरान–इजरायल संघर्षले नयाँ मोड लिएको छ। तर, आज बिहान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच युद्धविरामका लागि सहमति भएको दाबी गरेका छन्। ट्रम्पको यस अभिव्यक्तिसँगै मध्यपूर्वमा चुलिँदै गएको सशस्त्र द्वन्द्व तत्कालका लागि कम हुने संकेत देखिएको छ। यद्यपि, ट्रम्पको घोषणापछि इरान वा इजरायल दुबै पक्षबाट आधिकारिक प्रतिक्रिया आइसकेको छैन।





प्रतिकृया