• २५ भदौ २०८३, बिहीबार
  • ११ः०८ राती

त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

प्रकाशित मिति

२०८० मंसिर १३ गते, बुधबार ०२:४६

मंसिर १३, २०८० काठमाडौँ: त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण नगर्ने भएको छ । प्रत्येक वर्ष त्रिवि दीक्षान्त समारोहमा प्रदान गर्दै आइरहेको उक्त पदक यसवर्षदेखि वितरण नगर्ने भएको हो ।

National Life

त्रिविका परीक्षा नियन्त्रक कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले सेमेष्टर प्रणाली अनुसार सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थी छुट्याउन नसकिएकाले कुलपति पदक वितरण नगर्ने जानकारी दिनुभयो । “स्नातकोत्तर तहको नौ सङ्कायमा सबैभन्दा बढी अङ्क ल्याउने एक जना विद्यार्थीलाई कुलपति पदक प्रदान गरिँदै आइरहेका थियौँ”, उहाँले भन्नुभयो, “सेमेष्टर प्रणालीमा ग्रेडिङका आधारमा नतिजा प्रकाशन गर्ने भएपछि को सर्वोकृष्ट भन्ने छुट्याउन समस्या भएको हो ।”

“पदकका लागि विद्यार्थी छनोट गर्दा प्राप्ताङ्कको प्रतिशतका आधारमा सर्वोकृष्ट अङ्क प्राप्त गर्ने एक जना विद्यार्थी छनोट गरिन्थ्यो”, जोशीले भन्नुभयो, “हाल सेमेष्टरअन्तर्गत ग्रेडिङ प्रणाली अनुसार मूल्याङ्न गरिने हुँदा सर्वोकृष्ट विद्यार्थी छुट्याउन नसकिने भएपछि पदक नदिने निर्णय भएको हो ।”

Classic Tech Mobile
Classic Tech Desktop

कुलपति पदक नौ वटै सङ्कायमा सबैभन्दा बढी अङ्क ल्याउने एक जना विद्यार्थीलाई प्रदान गरिँदै आइएको थियो । पदकमा तीन तोला सुनसहित र प्रमाणपत्र हुने गरेको उहाँको भनाइ थियो । दीक्षान्त समारोहमा उपकुलपति पदक भने प्रदान गरिने जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार उपकुलपति पदक स्नातक तहमा सर्वोकृष्ट अङ्क ल्याउने एक जना विद्यार्थीलाई प्रदान गरिने छ । उपकुलपति पदकमा एक तोला सुन र प्रमाणपत्र हुन्छ ।

त्रिविको ४९औ दीक्षान्त समारोह यही पुस २ गते दशरथ रङ्गशालामा हुने भएको छ । त्रिविका रजिष्ट्रार प्रा डा पेशल दाहालले स्नातकोत्तर तहमा सबै विषयमा ग्रेडिङ पद्दति लागू भइसकेकाले सर्वोकृष्ट विद्यार्थी छुट्याउन नसकिने भएपछि कुलपति पदकका लागि सिफारिस गर्न नसकिएको बताउनुभयो ।

“पहिला वार्षिक परीक्षामा विद्यार्थीले प्राप्ताङ्कको आधारमा सर्वोकृष्ट विद्यार्थीको हो भनेर सजिलै छुट्याउन सकिन्थ्यो”, उहाँले भन्नुभयो, “स्नातकोत्तर तहमा सबै ग्रडिङ पद्दति लागू भइसकेकाले सर्वोकृष्ट विद्यार्थी छुट्याउन सकिँदैन । ९० देखि ९९ अङ्क पाउने एउटै ग्रेडमा रहन्छन् ।”

दाहालले विश्वमा नै ग्रेडिङ पद्धति लागू भइसकेको अवस्थामा नेपालमा पनि लागू गरिएको बताउनुभयो । उहाँले विस्तारै स्नातक तहमा पनि ग्रेडिङ पद्दति लागू हुने बताउनुभयो ।

प्रतिकृया