• २१ असोज २०८३, बुधबार
  • ८ः०० बिहान

इजरायल-हमास युद्धविरामको प्रस्ताव राष्ट्रसंघको महासभाबाट पारित

प्रकाशित मिति

२०८० कार्तिक ११ गते, शनिबार ०१:१९

कात्तिक ११, २०८०, काठमाडौं : संयुक्त राष्ट्रसंघको महासभाले गाजामा युद्धविराम गर्ने प्रस्तावलाई बहुमतले पारित गरेको छ।शुक्रबार राष्ट्रसंघको आपतकालीन विशेष सत्रमा जोर्डनले राखेको उक्त प्रस्तावको पक्षमा १२० मुलुकले मतदान गरी बहुमतले पारित गरेको हो।

National Life

नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ। संयुक्त राज्य अमेरिका लगायत १४ मुलुकले उक्त प्रस्तावको विपक्षमा मतदान गरेका छन्। युरोपेली मुलुकहरू भने मतदान प्रक्रियामा सहभागी भएनन्। संयुक्त राष्ट्रसंघका अनुसार ४५ मुलुकहरू मतदान प्रक्रियामा सहभागी भएनन्।


जोर्डनले राखेको उक्त प्रस्तावमा हमासले गरेको आक्रमणबारे निन्दा नगरिएको भन्दै क्यानडा र बेलायत मतदान प्रक्रियामा सहभागी नभएको बिबिसीले उल्लेख गरेको छ। इजरायल-हमासबीच तीन सातादेखि लडाइँ जारी छ। गत असोज २० गते हमासले इजरायलमाथि अचानक आक्रमण गरेयता इजरायले गाजामा जवाफी आक्रमण गर्दै आएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

गाजामा इजयरायल हवाइ आक्रमण गरिरहेको थियो। अब जमीनबाट पनि आक्रमण गर्न थालेको समाचारहरू सार्वजनिक भएपछि संयुक्त राष्ट्रसंघले त्यहाँका नागरिकहरूलाई मानवीय सहायता पुर्‍याउनका लागि पहलस्वरूप सदस्य राष्ट्रहरूको आपतकालीन बैठक बोलाएको थियो।


तीन सातादेखि जारी लडाइँमा ७ हजार भन्दा बढीको मृत्यु भएको छ। तीमध्ये इजरायलमा १ हजार ४ सय नागरिक मारिएका छन्। इजरायलको आक्रमणबाट गाजामा ५ हजार भन्दा बढी नागरिकहरूको ज्यान गएको छ। हजारौंको संख्यामा घाइते छन्।


मारिनेहरूमा २ हजार भन्दा बढी बालबालिका रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको दाबी छ। हमासले इजरायल र अन्य देशका गरी साढे २ सयभन्दा बढी व्यक्तिहरूलाई बन्धक बनाएको बिबिसीले उल्लेख गरेको छ।


संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले बन्धक बनाइएका सम्पूर्णलाई विनाशर्त रिहा गर्नुपर्ने र युद्ध रोकिनुपर्ने बताएका थिए। उनले सबैलाई आ-आफ्नो जिम्मेवारी निभाउनुपर्ने बताउँदै इतिहासले सबैको मूल्यांकन गर्ने बताएका थिए। एजेन्सी

प्रतिकृया