• १२ असोज २०८३, सोमबार
  • ११ः१२ बिहान

विदेशमा रहेका नेपालीको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधिको मस्यौदा सार्वजनिक

प्रकाशित मिति

२०८० आश्विन २५ गते, बिहीबार ०२:४५

असोज २५, २०८० काठमाडौँ: निर्वाचन आयोगले ‘विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, २०८०’ को मस्यौदा सार्वजनिक गरेको छ । विदेशमा रही मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेका नेपाली नागरिकलाई विदेशबाटै मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रयोजनका लागि सुझाव संकलन गर्ने गरी आयोगले आफ्नो वेबसाइटमार्फत कार्यविधिको मस्यौदा सार्वजनिक गरेको हो ।

National Life

मस्यौदामा आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि मुलुक तोकी उक्त मुलुकको सम्बन्धित कूटनीतिक नियोगबाट दर्ता गर्ने केन्द्र तोक्ने व्यवस्था गरेको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम पौडेलले नेपाल प्रेसलाई जानकारी दिए ।


उनका अनुसार दर्ता गर्ने प्रयोजनका लागि दर्ता कर्मचारी तोक्न आयोगले परराष्ट्र मन्त्रालयलाई लेखी पठाउने व्यवस्था राखिएको छ । विदेशमा रहेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन चाहेमा अनलाइन प्रणालीमार्फत फारम भरी जैविक (बायोमेट्रिक) विवरण दिनका लागि आफूलाई पायक पर्ने स्थान र मिति प्रणालीबाट छनोट गर्न सक्ने प्रवक्ता पौडेलले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

उनका अनुसार जैविक विवरण दिएपछि सम्बन्धित व्यक्तिको स्थायी ठेगानामा नाम दर्ता गरिने व्यवस्था कार्यविधिको मसौदामा रहेको छ । यसरी दर्ता भएका व्यक्तिको विवरण अन्तिम मतदाता नामावली प्रकाशन हुने समयमा आयोगमा प्राप्त गरी अद्यावधिकको प्रक्रियामा लाने व्यवस्था रहेको छ ।


कार्यविधिमा मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्न र त्यस्तो विषयमा आवश्यक निर्देशन दिन, समन्वय तथा अनुगमन गर्नका लागि निर्वाचन आयोगका सचिवको संयोजकत्वमा केन्द्रीय समन्वय तथा अनुगमन समिति रहने व्यवस्था गरिएको छ ।


समितिको सदस्यमा आयोगका सहसचिव एवं निर्वाचन व्यवस्थापन महाशाखा प्रमुख, गृह मन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालयका सहसचिव, आयोगकै सूचना प्रविधि शाखा प्रमुख सदस्य रहने व्यवस्था गरिएको छ भने मतदाता नामावली तथा निर्वाचन सञ्चालन शाखा प्रमुख सदस्य–सचिव रहने व्यवस्था छ ।


कार्यविधिको मस्यौदामा रहेका व्यवस्था लगायतका अन्य विषय थप परिमार्जन वा सुधार गर्न सुझाव दिन चाहने विदेश वा स्वदेशमा रहेका नेपाली नागरिक, गैर आवासीय नेपाली संघ तथा अन्य सरोकारवालाले आगामी कार्तिक मसान्त भित्र आयोगको इमेल ठेगानामा राय सुझाव उपलब्ध गराइदिनुहुन सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

प्रतिकृया