कबड्डीमा बंगलादेशलाई हराएसँगै नेपालको पदक सम्भावना बढ्यो
प्रकाशित मिति
२०८० आश्विन १५ गते, सोमबार १०:५१
असोज १५, २०८० काठमाडौँ: हाङझाउ एसियाडमा नेपालको पदक सम्भावना बलियो बनेको छ। नेपालले महिला कबड्डीमा सोमबार बिहान भएको खेलमा बंगालदेशलाई ३७-२४ ले पराजित गरेसँगै नेपाल सेमिफाइनल सम्भावना बलियो बन्यो ।
सोमबार जिआओसान गुआली स्पोर्ट्स सेन्टरको कोर्ट-२ मा भएको खेलमा नेपालले बंगलादेशलाई पराजित गर्दै पदकविहीनताको अवस्था अन्त गर्ने संकेत दिएको छ । एसियाली खेलकुदको महिला कबड्डीमा सात टिम मात्र सहभागिता रहँदा नेपालले एक खेल जितेर नै पदक पाउने सम्भावना बढेको हो । एक समूहमा ३ र अर्को समूहमा ४ टिम छन्, जसमा तीन टिम रहेको समूहमा नेपाल पर्दा एक खेल जिते मात्र पनि सेमिफाइनल पुग्ने सम्भावना भएकाले नेपालको पदक नजिक पुगेको हो ।
नेपालको समूहको इरान बलियो टिम हो। अब नेपालले इरानसँग भोलि खेल्नेछ। सो खेल हारे पनि नेपालको सेमिफाइनल सम्भावना कायम रहने छ। त्यसका लागि बुधबार इरानले बंगलादेशलाई पराजित गर्नु पर्ने छ ।
एसियाली खेलकुदको कबड्डीमा सेमिफाइनलमा पराजित हुने टिमलाई पनि कास्य पदक दिने व्यवस्था भएकाले नेपालका लागि सेमिफाइनलमा पुग्दै कबड्डीबाट कम्तीमा कास्य पदक जित्ने अवसर एक खेल जितेर नै बलियो बनेको हो ।
महिला कबड्डीको समूह ‘बी’ मा नेपाल, इरान र बंगलादेश छन् । समूह ’ए’ मा दक्षिण कोरिया, भारत, थाइल्यान्ड र चाइनिज ताइपेई छन् ।







प्रतिकृया