• २१ असोज २०८३, बुधबार
  • ९ः३६ बिहान

सुगाको बथानले मकैबाली सखाप

प्रकाशित मिति

२०८० भाद्र २२ गते, शुक्रबार ११:४७

भदौ २२, २०८० कञ्चनपुर: शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने किसानले लगाएको मकैबाली सुगाको बथानले खाएर सखाप पार्न थालेको छ । सुगाको बथानले मकैको घोगा खाएर नोक्सानी गर्न थालेपछि स्थानीय किसान चिन्तित भएका हुन् ।

National Life

बथानका बथान सुगा बिहान, साँझको समयमा आएर मकैबालीमा पसेर नोक्सानी गर्न थालेको मध्यवर्ती क्षेत्रको शुक्लाफाँटा नगरपालिका–२ का किसान गङ्गा बोहराले बताउनुभयो । “दश कठ्ठा जग्गामा बर्खे मकैबाली लगाएको थिएँ”, उहाँले भन्नुभयो, “मकैमा घोगा लाग्न सुरु भएपछि सुगा खेतमा छिर्न थालेका हुन्, पाक्न नपाउँदै पूरै बाली सखाप पारेका छन् ।” सूर्योदय हुनुअघि नै सुगा खेतमा छिर्ने भएकाले थाली ठटाएर सुगा भगाउने गरेको उहाँले बताउनुभयो ।


उहाँका अनुसार बादल लागेको दिन र साँझपख सुगाले मकै खान बढी मन पराउने गरेका छन् । “एक हुल भगाउँछौँ अर्को हुल खेतमा बसेर मकै खान सुरु गर्छ, एकछिनमै पूरै मकैका घोगा खाएर फर्कन्छन्”, सिमलफाँटाका रामबहादुर चौधरीले भन्नुभयो, “सुगा भगाउनकै लागि एक जनाको ड्युटी खेतमै दिनभर हुन्छ ।”

Classic Tech Mobile
Classic Tech Desktop

उहाँले गुनासो पोख्दै भन्नुभयो, “दिउँसो सुगाले मकैबाली खाएर हैरान पार्छन्, राति निकुञ्जबाट छिर्ने बँदेल खेतमा छिरेर बचेको मकै खाएर फर्कन्छन् ।” खेतमा छरेको मकैको बीउसमेत उठाउन मुस्किल हुन थालेको उहाँले उल्लेख गर्नुभयो । सुगाकै कारण मकैखेती गर्दा खनजोत, सिँचाइ, मलखादको लागत खर्च नउठ्ने भएकाले अधिकांश किसानले बर्खे मकैबाली लगाउन छाड्दै गएका छन् ।


मध्यवर्ती क्षेत्रका किसानले मकैको सट्टा उखुबाली, धानबालीलगायतको खेती गर्न थालेका छन् । पहिला मध्यवर्ती क्षेत्रको कालागौंडी, रानीपुर, ढकनिया, जोनापुर, पिपलाडी, असैना, सिमलफाँटा, दैजी अधिकांश किसानले मकैबाली लगाउने गरेका थिए ।


सुगाकै कारण हाल नगन्य मात्रामा मात्रै किसानले मकैबाली लगाउने गरेका छन् । स्थानीय किसान नरेन्द्र नेगीले सुगाले गरेको मकैबालीमा क्षतिको मूल्याङ्कन गरी किसानलाई क्षतिपूर्ति दिनुपर्ने बताउनुभयो । निकुञ्ज कार्यालयलाई क्षतिपूर्तिका लागि जनाउँदै आए पनि सुनवाइ नभएको उहाँको भनाइ छ ।

प्रतिकृया