• २१ असोज २०८३, बुधबार
  • ९ः५२ बिहान

विवेकशील साझा र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकता हुन सक्छ : सुरज प्रधान

प्रकाशित मिति

२०८० भाद्र ७ गते, बिहीबार ०३:४६

भदौ ७, २०८० भक्तपुर : विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य एवं वागमती प्रदेश अधिवेशन आयोजक समितिका संयोजक सुरज प्रधानले विवेकशील साझा पार्टीले आगामी दिनमा युवाहरूलाई खाडीमा पठाउन नपर्ने गरी एक विस्तृत (ब्लुप्रिन्ट) कार्यक्रम लिएर जनसमक्ष प्रस्तुत हुने लक्ष्यका साथ आगाडि बढिरहेको बताए ।

National Life

पार्टीको बागमती प्रदेशको प्रथम अधिवेशन आगामी भदौ ९ गते भक्तपुरमा आयोजना गर्ने सिलसिलामा रफत सञ्चार क्लबमा बिहीबार पत्रकारहरूसँग अन्तरसंवाद गर्दै उनले आफ्नो पार्टी वैकल्पिक राजनीतिक शक्तिको मातृसत्ता भएको दावी गरे । उनले भने “पार्टीले विगतमा केही वैचारिक स्खलन बेहोर्न परेतापनि अहिले पार्टीमा त्यस्तो कुनै अवस्था नभएकाले पार्टीलाई बिगार्न आएका विफल भइसकेका छन् ।”


उनले पार्टी अहिले समीक्षा बास्कोटाको सक्षम नेतृत्वमा अगाडि बढिरहेको पनि बताए । विवेकशील पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकता हुने सम्भावना छ कि छैन भन्ने जिज्ञासामा प्रधानले भने, “अहिले हाम्रो ध्यान एकतातिर गएको छैन । विवेकशील साझा पार्टीलाई जनताको विश्वासको जगमा बसाउनेतिर ध्यान छ । तर भविष्यमा भन्न सकिन्न, सिद्धान्त, आदर्श र कार्यक्रम मिलेमा एकता पनि हुन सक्छ ।”

Classic Tech Mobile
Classic Tech Desktop

अन्तरसंवादमा पार्टीका अर्का केन्द्रीय सदस्य एवं कृषि विभाग प्रमुख धनेश थापाले आफ्नो पार्टी २०७४ सालमा स्थापना हुँदा जुन सिद्धान्त, आदर्श र कार्यक्रम लिएर आएको थियो, आज पनि त्यही स्थानमा उभिएको बताएका छन् ।


थापाले भने, मुलुकको समग्र अवस्थालाई रूपान्तरण गर्न आवश्यकता रहेकोमा त्यो आवश्यकता विवेकशील साझा पार्टी पूरा गर्ने दावी गरे । उनले आज देशलाई पार्टी होइन, परिपाटीको खाँचो रहेको बताउँदै विवेकशील साझा पार्टी व्यवस्था परिवर्तन गर्ने नभई अवस्था परिवर्तन गर्नेतर्फ अग्रसर रहेको उल्लेख गरे ।

प्रतिकृया