प्रतिनिधिसभाको बैठक स्थगित
प्रकाशित मिति
२०८० श्रावण २४ गते, बुधबार ०२:४२
२४ श्रावण २०८०, काठमाडौं: प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरुद्ध गरेको छ । बुधबार दिउँसो १ बजेको बैठकमा सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै बैठक अवरुद्ध गरेको हो ।
बैठकको सुरुवातमै एमाले सांसदहरु आसनबाट उठेर छानबिन समितिको माग गर्दै विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले एमाले सांसद सुर्य थापालाई बोल्न समय दिएपछि सत्तापक्ष माओवादी, कांग्रेस, जसपाका सांसदहरु पनि विरोधमा उभिएका थिए । एमाले सांसद थापाले तस्करीको सुन समातेको २२ दिन पुगिसक्दा पनि सरकारले छानबिन समिति गठन नभएको भन्दै आपत्ति जनाए । थापाले बोलेपछि एमाले सांसदहरुले सभामुखको वेल घेराउ गर्दै उच्चस्तरीय छानबिन समिति गठन गर भन्दै नाराबाजी गरे ।
सभामुख देवराज घिमिरेले आफ्नो आशनमा फर्किएर बैठक सुचारु गर्न आग्रह गरेपनि एमाले सांसदहरुले नाराबाजी कायम राखे । अवरोध र नाराबाजी कायम रहेपछि सभामुखले साउन २६ गते शुक्रबार दिँउसो १ बजेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन् ।
यसै गरि लगातार प्रतिनिधि सभा बैठक अवरोध हुँदा जनताका कुरा राख्न नपाइएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार रचनात्मक रूपमा विरोध गरेको छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनको मुलगेटमा रास्वपाका २० जना सांसदहरूले सभामुख देवराज घिमिरेलाई सम्बोधन गर्दै आ-आफ्ना कुरा राखेका हुन्।
रास्वपा सांसदहरूले प्रतिनिधि सभा बैठकमै सम्बोधन गरेजसरी कुराहरू राखेका थिए।
रास्वपा सभापतिसमेत रहेका सांसद रवि लामिछानेले सुन प्रकरण छानबिन गरिनुपर्ने विषयमा बोले। उनले धारणा राख्दा अरू सांसदहरूले डायरीमा ढ्यापढ्याप गर्दै समर्थन गरेका थिए।








प्रतिकृया