नीति तथा कार्यक्रममा ल्याएका विषयमा आधारित भएर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नु पर्छ : सांसद वाग्ले
प्रकाशित मिति
२०८० जेष्ठ ९ गते, मंगलवार ०२:०१
९ जेठ २०८०, काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममा ल्याएका विषयमा आधारित भएर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्न सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०र८१ कोे नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद डा वाग्लेले सरकारको नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज भए पनि यसमा भएका राम्रा पक्षलाई कार्यान्वयनमा लान आवश्यक रहेको बताए। उनले नीति, नियत र क्षमतामा आधारित भएर विश्वासिलो बजेट ल्याउन आग्रह गरे।

उनले संसद्को छलफल निरर्थक होइन भन्ने सुनिश्चित गर्न बजेट हेर्नुपर्ने बताए । बजेटमा भ्रष्टाचार अन्त्य गर्नका लागि योजना ल्याउनुपर्ने पनि उनको सुझाव छ । ‘दोहनकारी राज्य नीति, विकृत निर्माण व्यवसायी र राजनीतिको खराब गठजोड तोड्नका लागि सिर्जनशील भएर अगाडि जानुपर्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण पूर्वाधार प्राधिकरण इत्यादिको बहस गरेर नयाँ शिराबाट जाउँ,’ उनले भने, ‘नीति तथा कार्यक्रम र बजेटबीच सम्बन्ध गहिरो बनाएर जाउँ ताकि हामी सबै सांसदले संसद्को छलफल कर्मकाण्ड भयो भनेको औपचारिकता नहोस् ।’

नीति तथा कार्यक्रमा ल्याइएका योजना बजेटसँग जोड्नुपर्ने वाग्लेको भनाइ थियो । पछिल्लो समय बजेटको आकार अस्वाभाविक रूपमा बढिरहेको भन्दै सांसद वाग्लेले थपे, ‘१० वर्षअगाडि ६१८ अर्बको बजेट ल्याएर आयौं । गत वर्ष १७९४ अर्बको बजेट बनायौं, यो अस्वाभाविक वृद्धि छ । कूल गार्हस्थ्य उत्पादनको अनुपातमा साढे २२ प्रतिशतबाट ह्वात्तै साढे ३४ प्रतिशत पुर्याएका छौं ।’
जेठमा अविश्वसनीय बजेट ल्याइने र माघमा चुपचाप कटौती गर्नुभन्दा यथार्थपकर बजेट ल्याउनुपर्ने सांसद वाग्लेको भनाइ थियो । ‘अहिले अलिकति यथार्थपरक बजेट ल्याउन म सरकारलाई आग्रह पनि गर्छु र हामी नियमन पनि गर्छौं,’ उनले भने । चालु खर्च, पुँजीगत खर्च, अनुदान लगायतका विषयमा के भइरहेका छन् भन्ने तथ्यांक व्यापक रहेको बताउँदै उनले सरकारलाई विगत हेरेर भविष्यका योजना बनाउन आग्रह गरेका थिए । निजी क्षेत्रले उत्पादनमूलक क्षेत्रमा लगाउने पुँजीलाई सरकारले सोसेर अनुत्पादक प्रयोजनमा खर्च गरिराखेको पनि वाग्लेको भनाइ थियो ।




प्रतिकृया