सत्तापक्षलाई आरोप-प्रत्यारोपमा नउत्रन सांसद बाँकोटाको आग्रह
प्रकाशित मिति
२०८० जेष्ठ ९ गते, मंगलवार ०१:३२

९ जेठ २०८०, काठमाडौँ : नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सत्तापक्षलाई आरोप-प्रत्यारोपमा नउत्रन आग्रह गरेका छन्। उनले सत्तापक्षका सांसदहरूले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई दिएको ‘हेडमास्टर’ संज्ञा नपुगेको बताएका छन् । बाँस्कोटाले एमाले अध्यक्ष ओली विशिष्ट प्रतिभाको धनी भएको र उनीबाट शिक्षा लिन सत्तापक्षका सांसदहरूलाई सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले सत्तापक्षले यसलाई गहनतापूर्वक लिनुपर्नेमा आरोप-प्रत्यारोप र विपक्षीलाई तेजोबध गर्न उत्रिएकामा चिन्ता व्यक्त गरे। सांसद बाँस्कोटाले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन हालसम्मका सरकारले के-के गरे? के एमाले बाधक हो? भन्दै यसवर्ष किसानले मल पाउन लाइन लाग्न नपरोस् भन्ने आग्रह गरे।
उनले तिनिधिसभामा एमालेका अध्यक्ष ओलीबाट शिक्षित हुनु भएकामा सत्तापक्षका सांसदहरूलाई बाँस्कोटाले बधाईसमेत दिएका थिए । ‘हेडमास्टर भन्नुभयो, हामी आक्रोशित छैनौं । नेकपा (एमाले) लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, सामाजिक न्यायसहितको परिवर्तन, पुनर्जागरण र राष्ट्रिय आत्मविश्वास निर्माणको विश्वविद्यालय हो । त्यसैले तपाईंहरूले दिएको उपाधिले पुग्दैन, केपी ओली यो विश्वविद्यालयको भीसी हो, प्रोफेसर, डाक्टर हो‚ इन्जिनियर हो, आर्किटेक्ट हो सबै हो,’ उनले भने, ‘तपाईंहरूले कम्तीमा सिक्न पाउनुभयो, बधाई छ ।’
प्रतिकृया