• २८ भदौ २०८३, आइतबार
  • १ः२१ दिउँसो

आज राति १२ बजेदेखि मौन अवधि सुरु, एसएमएसबाट पनि मत माग्न नपाइने

प्रकाशित मिति

२०७९ फाल्गुन २२ गते, सोमबार ०९:५८

२२ फागुन, २०७९, काठमाडौँ: राष्ट्रपति निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । फागुन २५ गते बिहीबार राष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचन आयोगले आजै राति १२ बजेदेखि मौन अवधि सुरु भएको जनाउँदै निषेधको अवधिमा प्रचार प्रसार गर्न नपाइने भनेको छ ।

National Life

“निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको छ,” आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले विज्ञप्ति जारी गर्दै भनेका छन्, “उक्त व्यवस्थाबमोजिम राष्ट्रपतिको निर्वाचनका लागि आज फागुन २२ गते राति १२ बजेदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने व्यहोरा सम्बन्धित राजनीतिक दल, उम्मेदवार, मतदाता र सम्बद्ध सबैलाई अवगत गराइन्छ ।”


आयोगले कुनै पनि माध्यमबाट मत माग्न र प्रचार प्रसार नगर्न भनेको छ । “निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत–हारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचारणहरु पालना गर्न–गराउन सम्बन्धित सबैलाई आयोग हार्दिक आग्रह गर्दछ । मुलुकको सर्वाेच्च र गरिमामय पद राष्ट्रपतिको निर्वाचनमा निर्वाचन कानून र आचारसंहिताको पालना गराई निर्वाचनको स्वच्छता र मर्यादा कायम गर्न आयोग सम्बन्धित सबैलाई हार्दिक आग्रह गर्दछ ।”

Classic Tech Mobile
Classic Tech Desktop

बिहीबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ ।

प्रतिकृया