प्रचण्डको निर्देशनमा माओवादी बागमती प्रदेशको बैठक आह्वान
प्रकाशित मिति
२०७८ पुष ५ गते, सोमबार ११:३५
५ पुस २०७८, काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमार्फत नेतृत्व चयन गर्न निर्देशन दिएसँगै बागमती प्रदेश कमिटीको नेतृत्व निर्वाचनमार्फत चयन गर्नका लागि बैठक बोलाइएको छ । बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा सोमबार मध्यान्हका लागि बोलाइएको छ।
नेतृत्व चयनका लागि पूरै प्रतिनिधिबाट भोटिङ हुने नभइ निर्वाचित कार्यसमितिका सदस्यहरुबीचबाट भोटिङ हुने नेकपा माओवादी केन्द्र बागमती प्रदेश निर्वाचन कमिटीका सदस्य डीबी तामाङले जनाए । प्रतिनिधिबाट भोटिङ हुने होइन, कार्यसमितिबाट भोटिङ हुने हो’, उनले भने, ‘त्यसो हुँदा टोटल २७५ जनाको नामावली नै मतदाता हुन्छ । त्यसैपछि निर्वाचनको प्रक्रिया सुरु हुन्छ ।’
कार्यसमिति यसअघि नै प्रतिनिधिबाट चयन भइसकेकाले अध्यक्षसहितको ९ जनाको पदाधिकारी निर्वाचनमार्फत चुनिने उनले बताए ।
उनका अनुसार निर्वाचनबाट अध्यक्षसहित तीन जना उपाध्यक्ष, एक सचिव, ३ सहसचिव र कोषाध्यक्ष निर्वाचित हुनेछन् । सहमतिको माध्यममार्फत नेतृत्व चयन हुन नसकेपछि चुनावी प्रक्रियाबाट नेतृत्व चयन गर्न लागिएको हो । जसका लागि प्रचण्डले मातहतका कमिटीलाई निर्देशन दिइसकेका छन् ।
त्यतिबेला नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि २७५ जनाको कार्यसमिति मात्रै चयन गरिएको थियो । अध्यक्षको दौडमा काभ्रेका दीनानाथ गौतम, सिन्धुपाल्चोकका सरल सहयात्री, नुवाकोटका हिरानाथ खतिवडा, डीपी ढकाललगायत रहेका छन् । उनीहरुमध्ये गौतम र सहयात्री बलिया प्रतिस्पर्धी रहेको बताइएको छ ।






प्रतिकृया