सकेसम्म सहमतिबाटै नेतृत्व छान्न प्रधानमन्त्री देउवाको आग्रह
प्रकाशित मिति
२०७८ मंसिर २३ गते, बिहीबार ०१:०१
२३ मंसिर २०७८, काठमाडौँ : कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्नु राम्रो भएको तर्क दिएक छन् । पार्टी महाधिवेशन लगत्तै आम निर्वाचन भएकाले त्यसलाई प्रभाव पार्ने गरी अस्वस्थ प्रतिस्पर्धा गर्न नहुने उनले बताएका छन् ।
‘सकभर सहमतिबाटै नेतृत्व टुंगो लगाऔं । तर त्यसो भएन भने अस्वस्थ प्रतिस्पर्धा र कटुता नहोस्, म सबैलाई आग्रह गर्दछु,’ देउवाले भने, ‘महाधिवेशन लगत्तै आमचुनाव छ, पार्टीलाई सबैभन्दा ठूलो पार्टी बनाउनुपर्नेछ ।’
उनले कांग्रेसको महाधिवेशन प्रजातन्त्रको भविष्यका लागि समेत अर्थपूर्ण हुने भन्दै अस्वस्थ प्रतिस्पर्धा नगर्न नेता तथा कार्यकर्ताहरूलाई सुझाव समेत दिएका थिए । ‘
सबैतिर उत्साह छाएको छ, उत्साहसहित काठमाडौं आउनुभएको छ, अब सबै उत्साहका साथ गाउँ घर फर्केर पार्टीलाई चुनाव जिताउन लाग्न अनुरोध छ,’ देउवाले भने ।
सहमहामन्त्री प्रकासशरण महतको पुस्तक विमोचन गर्दै बिहीबार देउवाले यो महाधिवेशनपछि कांग्रेसले बहुमत प्राप्त गर्ने शक्ति आर्जन गर्नुपर्ने बताए । ‘प्रतिस्पर्धाबाट हुने जित(हारलाई सामान्य रुपमा लिनुपर्छ, हार्नेले जित्नेलाई सहयोग गर्ने र जित्नेले हार्नेका कुरा पनि सुनेर जानुपर्छ,’ देउवाले भने ।








प्रतिकृया