कांग्रेस महाधिवेशन: ५ निर्वाचन क्षेत्रको अधिवेशन बाँकी, १६० मा सम्पन्न
प्रकाशित मिति
२०७८ मंसिर १९ गते, आईतवार ११:२८
१९ मंसिर २०७८, काठमाडौँ : नेपाली कांग्रेसको १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिको अनुसार सर्लाहीका ४ र सप्तरीको १ निर्वाचन क्षेत्रबाहेक सम्पूर्ण निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । । सप्तरी निर्वाचन क्षेत्र नं ४ मा आज निर्वाचन जारी रहेको छ भने सर्लाहीको ४ निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गर्नका लागि नयाँ निर्वाचन अधिकृत खटाइएको छ ।
महोत्तरी क्षेत्र नं ४ को अधिवेशन सम्पन्न भइसकेको छ यदेयपी निर्वाचनको नतिजाका क्रममा आएका विवादका कारण त्यहाँको निर्णय गर्न बाँकी रहेको छ ।
कांग्रेस महाधिवेशनका लागि ६३ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । यस्तै सात प्रदेशमध्ये छ प्रदेशको अधिवेशन सुरु भइसकेको र केही प्रदेशको नतिजासमेत आइसकेको छ ।
गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पदाधिकारीको नतिजा आइसकेको छ भने प्रदेश नं १ र लुम्बिनी प्रदेशको मतगणना भइरहेको र बागमती प्रदेशको सभापति पदमा कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत नल्याएकाले पुनः मतदान हुने भएको छ ।
कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी मङ्सिर २४ गतेदेखि काठमाडौँमा हुँदैछ ।








प्रतिकृया