एमाले महाधिवेशनको दिन चितवनमा हजार बढी प्रहरी खटाइने, प्रहरी एआईजीको कमान्डमा सुरक्षा ब्यवस्था
प्रकाशित मिति
२०७८ मंसिर ८ गते, बुधबार ०२:१२
८ मंसिर २०७८, काठमाण्डौ : नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा प्रहरी एआईजीको कमान्डमा एक हजार भन्दा बढि प्रहरी परिचालन गरिने भएको छ । एआईजी सहकुलबहादुर थापाको कमान्डमा सुरक्षा व्यवस्थापन गरिने प्रहरी प्रवक्ता एसएसपी वसन्त कुवँरले जानकारी दिएका छन् ।
एसएसपी कुँवरका अनुसार शुक्रबारदेखि चितवनमा सुरु हुने महाधिवेशन सुरक्षामा एक हजारभन्दा बढी प्रहरी खटिनेछन् । सुरक्षामा बागमती प्रदेश प्रहरी, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका डीआईजी खटिने प्रवक्ता कुँवरले जानकारी दिए । उनीहरुको समग्र कमान्ड एआईजी थापाले गर्नेछन् ।
यसरी हुँदैछ सुरक्षा व्यवस्थापन
नेकपा एमालेको आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा सुरक्षा प्रवन्धलाई चुस्त पारिने भएको छ । यसका लागि महाधिवेशन उद्घाटन र बन्दसत्र स्थलमा एक हजार ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको छ ।नारायणी नदी किनारमा हुने महाधिवेशनको उद्घाटन सत्रलाई लक्षित गर्दै नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० र चितवनको सुरक्षा व्यवस्था कडा पारिएको हो ।
जिल्लामा विद्यमान जनशक्ति अपर्याप्त हुने जनाउँदै थप सुरक्षाकर्मी माग गरिएको दुवै जिल्लाका सुरक्षा निकायका प्रमुख बताउँछन् । ती दुई जिल्लाको सुरक्षाकर्मीबीच समन्वय भएर सुरक्षा तयारीको काम भइरहेको छ ।
महाधिवेशनका लागि नवलपुरको गैँडाकोटमा मात्रै नेपाल प्रहरीको १०० , चितवनतर्फ ८०० सुरक्षाकर्मी, सशस्त्र प्रहरीका ४५० र राष्ट्रिय अनुसन्धानका ९० सुरक्षाकर्मी परिचालन हुँदैछन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०का प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले महाधिवेशनलाई लक्षित गर्दै थप जनशक्ति प्रदेश प्रहरी कार्यालय पोखरासँग माग गरिएको जानकारी दिए ।
नवलपुरभन्दा पश्चिमबाट महाविधेशनमा सहभागी हुन आउने सवारी साधनलाई गैँडाकोटमा रोकिने जनाउँदै उनले नदी किनारसहितका स्थानलाई पार्किङस्थलको रुपमा प्रयोग गर्ने बताए । नारायणगढ–बुटवल सडक विस्तारको क्रममा रहेकाले बाटोमा जाम हुनसक्ने जनाउँदै यसका लागि समेत ट्राफिक प्रहरी परिचालन गरिने उनले बताए ।
‘हामीले नवलपरासी पश्चिम र रुपन्देहीको प्रहरीसँग समन्वय गरेर काम गरिरहेका छौँ’, मल्लले भने, ‘मङ्सिर ९ गते रातिबाट नै हामीले पूर्व–पश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डमा मालबाहक सवारीसाधन सञ्चालनमा रोक लगाउने गरी काम गरिरहेका छौँ ।’
महाधिवेशन उद्घाटन र बन्दसत्र स्थानमा सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले जानकारी दिए । एमालेका पदाधिकारीसँग बसेर सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थापनबारे छलफल भएको जनाउँदै उनले जिल्ला ट्राफिक प्रहरी कार्यालय र प्रदेश ट्राफिक प्रहरी कार्यालयबाट विशेष योजना बनाएर काम भइरहेको बताए ।
प्रजिअ तामाङका अनुसार महाधिवेशनस्थलसहित जिल्लामा आउने भिआईपी, भिभिआईपी र विदेशी डेलिगेट्सको सुरक्षामा केन्द्रित हुनेगरी सुरक्षा योजना बनाइएको छ । मङ्सिर १० गते नारायणी नदी किनारमा महाविधेशन उद्घाटन पश्चात् सोही दिन रातिदेखि नै सुरक्षा व्यवस्थालाई सौराहा केन्द्रित पारिने उनको भनाइ छ । उनका अनुसार बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालयबाट पश्चिमतर्फ महाधिवेशन उद्घाटनस्थल नारायणगढसम्म अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइने छ ।
‘महाधिवेशनमा आउने प्रतिनिधिसहित भिआईपी, प्रतिनिधि र विदेशी डेलिगेट्स बन्दसत्र हुने होटलमा बस्ने भएकाले सोहीअनुसार सुरक्षा योजना बनाएका छौँ’, उनले भने, ‘सुरक्षा घेरा साँघुरो हुने भएकाले हामीलाई व्यवस्थापन गर्न सहज हुनेछ ।’
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसहितको महाधिवेशन केन्द्रीत एकीकृत सुरक्षा योजना तयार भएको जानकारी दिए । जिल्लामा भएका भन्दा थप ६५० प्रहरी चितवनमा परिचालन गर्नेगरी प्रदेशसँग माग गरिएको उनले बताए ।
‘महाधिवेशन केन्द्रित गरी नेपाल प्रहरीको आठ सय भन्दा बढी जनशक्ति परिचालन गर्दैछौँ’, प्रमुख अधिकारीले भने, ‘थप जनशक्ति नेपाल प्रहरी शिक्षालय भरतपुर, दङ्गा नियन्त्रण गण हेटौँडा र प्रदेश प्रहरी कार्यालयबाट आउनेछ ।’
त्यस्तै सशस्त्र प्रहरीको ४५० भन्दा बढी जनशक्ति परिचालन हुने १७ नम्बर गण आँपटारीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दीपककुमार थापाले जानकारी दिए । १७ नम्बर गण र मातहतमा रहेका जनशक्तिको अवला बाहिनीमार्फत थप २५० सुरक्षाकर्मी महाधिवेशनका लागि परिचालन गर्ने तयारी भइरहेको थापाले बताए । सशस्त्र प्रहरीले उद्घाटन सत्र र बन्दसत्र हुनेस्थलको बाहिरी सुरक्षा हेर्ने उनले बताए ।
त्यसैगरी जिल्लाको सुरक्षाअवस्थाबारे जानकारी लिनका लागि राष्ट्रिय अनुसन्धान विभाग चितवनले ९० जनशक्ति परिचालन गरेको विभागका उपअनुसन्धान निर्देशक शेरजङ्ग चन्दले बताए । जिल्लामा रहेका ५० राष्ट्रिय अनुसन्धानका कर्मचारीसहित थप ४० कर्मचारी परिचालन गरेर जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिने काम भइरेको उनको भनाइ छ ।
‘महाधिवेशनमा पाँच लाख जनसहभागिता हुने भनिरहँदा सुरक्षा संवेदनशीलता पक्कै रहन्छ’ उपअनुसन्धान निर्देशक चन्दले भने, ‘केही स्थानको सेक्यु्रिटी थ्रेटबारे हामीले सुरक्षा समितिमा जानकारी गराएका छौँ ।’
विभागले समग्र सुरक्षा व्यवस्थाबारे जानकारी लिने र सुरक्षा समितिमा जानकारी गराउने उनको भनाइ छ । विभागले महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनार र बन्दसत्र स्थल सौराहा केन्द्रित गरेर जनशक्ति परिचालन गरेको छ ।
आसन्न महाविधेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशन मङ्सिर १० गते नारायणी नदी किनारमा उद्घाटन हुनेछ भने ११ र १२ गते सौराहाको सेभेन स्टारमा बन्दसत्र हुनेछ ।








प्रतिकृया