डाक्टरको विवरण ‘चोरी’ गर्ने उम्मेदवारलाई कारबाही गरिने, काउन्सिलको विशेष बैठक आइतबार
प्रकाशित मिति
२०७८ मंसिर ३ गते, शुक्रबार ०४:४०
३ मंसिर, २०७८ काठमाडौँ : नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरुको नम्बर लगायतका विवरण दुरुपयोग गर्दै चुनावी प्रचारमा प्रयोग गर्ने उम्मेदवार चिकित्सकलाई कारबाही गर्ने तयारी गरेको छ। चिकित्सकहरुले काउन्सिलका लागि उपलब्ध गराएको नम्बरमा केही उम्मेदवारहरुले नम्बर लगायतका विवरण काउन्सिललाई जानकारी नै नदिइ निकालेर चुनावका लागि मात माग्न प्रयोग गरेको पाइएको छ।
उम्मेदवारहरुको यो कार्यलाई काउन्सिलबाट नम्बर लगायतका विवरण ‘चोरी’ गरेको भन्दै चिकित्सकहरुले नै विरोध गरेका छन्। नम्बर लगायतका विवरण चोरी भएको र दुरुपयोग भएको भन्दै काउन्सिलमा चिकित्सकहरुले नै जानकारी गराएपछि काउन्सिलले यस विषयमा छानबिन अगाडि बढाएको हो।
काउन्सिलबाट बिना जानकारी नम्बर लगायतका विवरण लिएर आफ्नो चुनावी प्रचारमा प्रयोग गर्नेमा डा कालुसिंह खत्री र डा तोसिमा कार्की रहेका छन्। डा खत्री काउन्सिलका सदस्य हुन्। उनी अहिले पनि सदस्य पदमा चुनावी मैदानमा नै छन्। काउन्सिलबाट चिकित्सकको नम्बर लगायतका विवरण उनले नै बाहिर लगेको आरोप समेत चिकित्सकहरुले लगाएका छन्।यद्यपि काउन्सिलले यस विषयमा विवरण दुरुपयोग गर्ने चिकित्सकको नाम भने अझै सार्वजनिक गरेको छैन।
काउन्सिल स्रोतका अनुसार डा खत्रीले काउन्सिलबाट १५ हजारभन्दा बढी डाक्टरको नम्बर लिएर इसेवा मार्फत चुनावका लागि मत माग्ने काम गरेका छन्। उनीसँगै डा. कार्कीले पनि सोही अनुसार मात मागेकी छिन्।
(उनीहरुले मागेको मतको म्यासेज समाचारको तल राखिएको छ।)
काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीले काउन्सिलबाट उम्मेदवार चिकित्सकले नम्बर लगायतका विवरण अन्यत्र लगेको विषयमा काउन्सिलले छानबिन समेत गरिसकेको बताए।
उनले काउन्सिलमा रहेको चिकित्सकहरुको विवरण बाहिर लगेका उम्मेदवार चिकित्सकलाई कस्तो कारबाही गर्ने भन्ने निर्णय गर्न आइतबार काउन्सिलको विशेष बैठक समेत बोलाइएको जानकारी दिए।








प्रतिकृया