राजीनामाबारे छलफल गर्न माधव-झलनाथ समूहको बैठक बस्दै
प्रकाशित मिति
२०७८ बैशाख २६ गते, आईतवार ०८:३८
काठमाडौं : नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरुले राजीनामा दिनेबारे थप छलफल गर्न स्थायी कमिटी बैठक बस्ने भएको छ । शनिबार साँझ बसेको सांसदहरुको बैठकले २ जेठ २०७५ मा फर्कन अध्यक्ष केपी शर्मा ओलीलाई २४ घण्टे अल्टिमेटम दिने निर्णय गरेको थियो । अदालतको फैसलाअनुसार एमाले पार्टी संरचना, विधान र नेतृत्व मान्न ओली तयार नभए सामुहिक राजीनामा गर्न सांसदहरु तयार भएका छन् । यसबारे थप छलफल गर्न आज स्थायी कमिटी सदस्यहरुको बैठक हुँदैछ ।
माधव पक्षले एकताको लागि २०७५ जेठ २ गते फर्किनुपर्ने बटमलाईन बनाएको थियो । तर, अध्यक्ष ओलीले अब कुनैपनि हालतमा पछि फर्कन नसकिने अडान लिएपछि माधव नेपाल पक्षका २० जना सांसदले राजीनामा दिने भएका हुन् । विश्वस्त सूत्रका अनुसार माधव नेपाल, भीम रावल, घनश्याम भुषालसहित २० जना सांसदले राजीनामा दिनेगरि पत्रमा हस्ताक्षर गरिसकेका छन् ।
उनीहरु पनि एकताको लागि प्रयासरत थिए । तर, कुनैपनि हालतमा एकताको मिलनविन्दु पहिल्याउन नसकिने भएपछि प्रधानमन्त्री ओलीलाई सत्ताच्यूत गर्नको लागि पनि सामूहिक राजीनामा दिने निश्कर्षमा आफूहरु पुगेको माधव नेपाल पक्षधर एक सांसदले जानकारी दिए । एमालेको १२१ सांसद संख्या हो । माधव नेपाल पक्षधर २० जना सांसदले राजीनामा दिँदा एमालेसँग अब १०१ मात्रै संख्या रहने भयो ।
तर समय भने निश्चित भएको छैन । एमाले उपाध्यक्ष युवराज ज्ञवालीले भने, ‘हामी आज बैठक बस्दै छौं, भर्चुअल माध्यमबाट भए पनि बस्छौं र कसरी अगाडि बढ्ने भनेर छलफल गर्छौं ।’ प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका निम्ति भोलि संसद्को अधिवेशन बोलाइएको छ । त्यस अगाडि नै ओली २८ फागुन यताको निर्णय रद्ध गर्न तयार नभए नेपाल समूहका सांसदहरुले राजीनामा गर्ने तयारी भएको छ ।






प्रतिकृया