बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा
प्रकाशित मिति
२०८३ भाद्र १ गते, सोमबार ०३:१८
१ भदौ २०८३ काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार पदबाट राजीनामा दिएका छन्। प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्ने क्रममा सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन्।
नेकपा एमालेले गत ६ साउनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार बानियाँले आज विश्वासको मत लिन लागेका थिए। तर, आफ्नै दल नेपाली कांग्रेस र सरकारमा सहभागी हाम्रो नेपाली पार्टीबाट मात्रै विश्वासको मत पाउने अवस्था बनेपछि उनले विश्वासको मतको प्रक्रिया अघि नबढाई राजीनामा दिएका हुन्।

राजीनामा दिनुअघि बानियाँले आफ्नो एक वर्षे कार्यकालमा सरकारले गरेका प्रमुख कामको २८ बुँदे प्रगति विवरण प्रदेशसभामा प्रस्तुत गरेका थिए।

बानियाँ २० साउन २०८२ मा बागमतीको मुख्यमन्त्री नियुक्त भएका थिए। उनले २७ साउनमा ६३ जना प्रदेशसभा सदस्यको समर्थनमा विश्वासको मत पाएका थिए। उनी बागमती प्रदेशका छैटौँ मुख्यमन्त्री हुन्।
बानियाँको राजीनामासँगै बागमतीमा नयाँ सरकार गठनको बाटो खुलेको छ। नेकपा र नेकपा एमालेको गठबन्धनले अन्य दलको समर्थनमा सरकार बनाउने तयारी गरेको छ। दुई दलबीचको भागबण्डाअनुसार बागमतीमा एमालेले सरकारको नेतृत्व गर्ने सहमति भएको छ।
तर एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाविरुद्ध आफ्नै दलभित्र अविश्वासको प्रस्ताव दर्ता भएकाले भावी मुख्यमन्त्रीको टुंगो लाग्नुअघि संसदीय दलको विवाद समाधान गर्नुपर्ने भएको छ। १६ जना सांसदको हस्ताक्षरसहित किरण थापा मगरलाई संसदीय दलको नेता बनाउन माग गर्दै २७ साउनमा अविश्वास प्रस्ताव दर्ता भएको थियो।
हाल बागमती प्रदेशसभा १०४ सदस्यीय छ। नेपाली कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्। प्रदेशमा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ।




प्रतिकृया