• ३१ असार २०८३, बुधबार
  • २:५५ बिहान

११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो

प्रकाशित मिति

२०८३ असार ३० गते, मंगलवार ०९:२२

३० असार २०८३ काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको वस्तु निर्यात १२.३ प्रतिशतले वृद्धि भएर २ खर्ब ७७ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ। यद्यपि आयात अझ तीव्र गतिमा बढ्दा व्यापार घाटा १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा कुल वस्तु आयात १५.२ प्रतिशतले बढेर १८ खर्ब ९४ अर्ब १० करोड रुपैयाँ पुगेको छ। निर्यातको तुलनामा आयात उच्च दरले बढेपछि व्यापार घाटा अघिल्लो वर्षको तुलनामा १५.७ प्रतिशतले विस्तार भएको हो।

Kamana Sewa

गन्तव्यका आधारमा भारततर्फको निर्यात १३.६ प्रतिशत र अन्य मुलुकतर्फको ९.२ प्रतिशतले बढेको छ भने चीनतर्फको निर्यात ३५.८ प्रतिशतले घटेको छ। वस्तुगत रूपमा भटमासको तेल, पाम तेल, अलैंची, चाउचाउ र ब्रान्डीको निर्यात बढेको छ भने जिंक सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा र हस्तकलाका सामग्रीको निर्यात घटेको छ।

Classic Tech Desktop

आयाततर्फ भारतबाट ११.८ प्रतिशत, चीनबाट २१.५ प्रतिशत र अन्य मुलुकबाट १८.९ प्रतिशतले वृद्धि भएको छ। पेट्रोलियम पदार्थ, चाँदी, सवारी साधन तथा स्पेयर पार्ट्स, रासायनिक मल र भटमासको कच्चा तेलको आयात बढ्दा खाने तेल, हट रोल्ड सिट, लसुन, एमएस तार तथा बिलेटलगायत वस्तुको आयात भने घटेको छ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात १४.७ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १५.१ प्रतिशतभन्दा कम हो। त्यस्तै, भारतबाट परिवर्त्य विदेशी मुद्रामा १ खर्ब ८० अर्ब १० करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार २०८३ जेठ महिनामा निर्यातको एकाइ मूल्य सूचकांक ४.२ प्रतिशतले बढ्दा आयात मूल्य सूचकांक २१ प्रतिशतले वृद्धि भएको छ। यसै अवधिमा नेपालको टर्म्स अफ ट्रेड (व्यापारको सर्त) १३.९ प्रतिशतले कमजोर भएको छ।

प्रतिकृया