नेपाल टेलिकमको सेयर सर्वसाधारणलाई बिक्री गरिने
प्रकाशित मिति
२०८३ जेष्ठ १५ गते, शुक्रबार ०४:५२
काठमाडौं — सरकारले नेपाल टेलिकममा रहेको संघीय सरकारको स्वामित्व ६६ प्रतिशत कायम राख्दै बाँकी सेयर आगामी पुस महिनाभित्र सर्वसाधारणलाई बिक्री गर्ने घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त घोषणा गरेका हुन्।

उनका अनुसार सेयर बिक्रीबाट प्राप्त हुने रकम नेपाललाई ‘टेक हव’का रूपमा विकास गर्न सूचना प्रविधि क्षेत्रमा लगानी गरिनेछ। सरकारले डिजिटल अर्थतन्त्र विस्तार, प्रविधिमैत्री पूर्वाधार विकास तथा सूचना प्रविधि उद्योगलाई प्राथमिकतामा राखेको जनाएको छ।

अर्थमन्त्री वाग्लेले सूचना प्रविधि क्षेत्र विस्तार गर्न विदेशमा लगानी खुला गर्ने व्यवस्था मिलाइएको पनि बताएका छन्। सरकारको यो नीतिले सूचना प्रविधि क्षेत्रमा निजी तथा विदेशी लगानी आकर्षित गर्ने अपेक्षा गरिएको छ।
सरकारले आगामी बजेटमार्फत नेपाललाई सूचना प्रविधि तथा डिजिटल नवप्रवर्तनको क्षेत्रीय केन्द्र बनाउने लक्ष्य अघि सारेको छ।




प्रतिकृया