मधेसमा नयाँ सत्ता समीकरण, आज मुख्यमन्त्री यादवले विश्वासको मत लिने
प्रकाशित मिति
२०८३ जेष्ठ ८ गते, शुक्रबार १०:१३
८ जेठ २०८३ जनकपुरधाम – मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकारको सत्ता समीकरण फेरिएको छ । नेपाली कांग्रेस ले नेकपा एमाले सँग नयाँ गठबन्धन गर्दै जनमत पार्टी र जसपा नेपाल लाई सरकारबाट बाहिर राखेको हो ।

नयाँ समीकरणअनुसार एमालेका मोहम्मद समिर लाई बिहीबार राति बिना विभागीय मन्त्री नियुक्त गरिएको छ । यस्तै, सरकारमा रहेका जनमत पार्टीका अर्थमन्त्री महेशप्रसाद यादव र खेलकुद तथा समाजकल्याण मन्त्री वसन्त कुशवाह ले राजीनामा दिएका छन् । केन्द्रीय तहमा कांग्रेस, एमाले र नेपाल कम्युनिष्ट पार्टी बीच भएको सहमतिअनुसार मधेश प्रदेशमा पनि नयाँ समीकरण बनेको जनाइएको छ ।

यसैबीच, जसपा नेपाल ले सरकारलाई विश्वासको मत दिने निर्णय गरे पनि उसलाई गठबन्धनबाहिर राखिएको छ । मुख्यमन्त्री कृष्ण यादव ले जसपा नेपालबाट मन्त्री बनेका भौतिक पूर्वाधार तथा विकास मन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी तथा श्रम तथा यातायात मन्त्री मनीष सुमन लाई पदमुक्त गरेका छन् ।

मुख्यमन्त्री यादवले सत्ता समीकरण परिवर्तन हुने जानकारी दिँदै मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका थिए । राजीनामा नदिएपछि उनीहरूलाई बर्खास्त गरिएको जनाइएको छ ।
जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची तय गरेका छन् । एमालेको समर्थनपछि कांग्रेस नेतृत्वको सरकार बहुमतमा रहेको बताइएको छ ।
मधेश प्रदेशसभामा एमालेका २४, कांग्रेसका २२, जसपा नेपालका १८, नेकपाका १५, जनमत पार्टीका १२, लोसपाका ८ तथा राप्रपा र नेपाल संघीय समाजवादी पार्टीका एक–एक सांसद रहेका छन् ।




प्रतिकृया