एभरेष्ट बैंक लिमिटेडको नाफा घट्दा पनि व्यवसायिक सूचकमा सुधार
प्रकाशित मिति
२०८३ बैशाख १४ गते, सोमबार ११:२१
१४ बैशाख २०८३ काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफामा सामान्य गिरावट देखिए पनि अन्य प्रमुख सूचकहरूमा सुधार देखिएको छ।
बैंकले चैत मसान्तसम्म ३ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँको तुलनामा ३.७१ प्रतिशतले कम हो। यद्यपि, बैंकको खुद ब्याज आम्दानी भने बढेर ६ अर्ब ८३ करोड ३४ लाख रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा यस्तो आम्दानी ६ अर्ब ७४ करोड ३९ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ९.२२ प्रतिशतले वृद्धि भई ८ अर्ब ९३ करोड १० लाख रुपैयाँ पुगेको छ। तर सञ्चालन मुनाफा भने ३.५३ प्रतिशतले घट्दै ४ अर्ब ९० करोड ३६ लाख रुपैयाँमा सीमित भएको छ।

व्यवसाय विस्तारतर्फ बैंकले ३ खर्ब २ अर्ब ४३ करोड ३४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ५० अर्ब ८७ करोड ९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। हाल बैंकको चुक्ता पूँजी १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ र जगेडा कोषमा १५ अर्ब ५० करोड ८८ लाख रुपैयाँ सञ्चित रहेको छ।
बैंकको प्रतिशेयर आम्दानी (EPS) ३२ रुपैयाँ ३५ पैसा र प्रतिशेयर नेटवर्थ २४४ रुपैयाँ २७ पैसा रहेको छ। खराब कर्जा अनुपात घटेर ०.६१ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष ०.६४ प्रतिशत थियो।
त्यस्तै, बैंकको बेस रेट ४.५७ प्रतिशत र सिडी रेसियो ८५.८८ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख गरिएको छ।




प्रतिकृया