क्यासिनोलाई थप कडाइका साथ नियमन गर्न सरकारको १२ बुँदे निर्देशन
प्रकाशित मिति
२०८२ मंसिर ३ गते, बुधबार ११:१४
मंसिर ३, २०८२ सिराहा — सरकारले देशभर सञ्चालनमा रहेका क्यासिनो व्यवसायमा थप कानूनी नियन्त्रण र अवैध आर्थिक गतिविधि रोक्न १२ बुँदे कडा निर्देशन जारी गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले सम्पत्ति शुद्धीकरण निवारण ऐन र सम्बन्धित प्रावधानको पूर्ण पालना क्यासिनोलाई अनिवार्य गराएको हो।
निर्देशन अनुसार, क्यासिनो व्यवसायीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी नियमको अनिवार्य अनुपालन गर्नुपर्नेछ। साथै, नेपाल राष्ट्र बैंकबाट विदेशी मुद्रा कारोबारको अनुमति नलिई कुनै पनि विदेशी मुद्रा कारोबार नगर्नुपर्ने प्रष्ट स्मरण गराइएको छ।
क्यासिनो नियमावली, २०८२ अनुसार तोकिएका सबै विवरण नियमित रूपमा विभागमा पेश गर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गरिएको छ। निर्देशन अनुसार, क्यासिनोले खेलाडीको ग्राहक पहिचान प्रणाली र बायोमेट्रिक विवरण अद्यावधिक गर्नुपर्नेछ। विभागको मागमा उक्त विवरण तत्काल उपलब्ध गराउनुपर्नेछ र क्यासिनो परिसरभित्र हुने सबै गतिविधि सिसिटिभीमार्फत रेकर्ड गरी कम्तीमा छ महिनासम्म सुरक्षित राख्नुपर्नेछ।
निर्देशनले तेस्रो पक्षमार्फत क्यासिनो सञ्चालन नगर्न र इजाजत प्राप्त स्थानबाहेक अन्यत्र सञ्चालन पूर्णरूपमा प्रतिबन्धित गरिएको छ। खेलाडीले जितेको रकम भुक्तानी गर्नुअघि लाभकर अग्रिम कट्टी अनिवार्य गरिएको छ। लाभकर कट्टी भएको प्रमाणपत्र खेलाडीलाई उपलब्ध गराउनुपर्ने र त्यसको विवरण सम्बन्धित आन्तरिक राजस्व कार्यालय र पर्यटन विभागमा पठाउनुपर्ने व्यवस्था पनि छ।
सरकारले इन्टरनेट वा अनलाइन माध्यमबाट कुनै पनि क्यासिनो खेल सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाएको छ। क्यासिनो तथा होटल परिसरभित्र र बाहिर सुरक्षा सुनिश्चित गर्नुपर्ने, र विभागद्वारा गरिने अनुगमनमा त्रुटि भेटिए कानुनअनुसार कारबाही हुने चेतावनी पनि जारी गरिएको छ।






प्रतिकृया