रामकुमारी झाँक्रीसहितका नेताहरू चार वर्षपछि एमालेमा फर्किए
प्रकाशित मिति
२०८२ कार्तिक २४ गते, सोमबार ०४:५६
कात्तिक २४, २०८२ काठमाडौं— करिब चार वर्षअघि नेकपा एमालेबाट अलग भई नेकपा (एकीकृत समाजवादी) पार्टीतर्फ लागेका नेताहरू पुनः एमालेमा फर्किएका छन्। सोमबार राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममा रामकुमारी झाँक्री, किसान श्रेष्ठ, गम्भीरलाल श्रेष्ठ र पिताम्बर तिमल्सिनासहितका नेताहरू औपचारिक रूपमा एमालेमा पुनः प्रवेश गरेका हुन्।
कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीको झन्डा प्रदान गर्दै पुनः स्वागत गरेका थिए। त्यही अवसरमा नेता श्रेष्ठ र तिमल्सिनाले प्रतीकात्मक रूपमा अध्यक्ष ओलीलाई कलम हस्तान्तरण गरेका थिए।
सन् २०७८ साल भदौ २ गते एमाले विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो। त्यतिबेला झाँक्रीले नेपालको हात समाउँदै अघि बढाएको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
तर, पछिल्ला वर्षहरूमा रामकुमारी झाँक्रीसहितका नेताहरू एकीकृत समाजवादीप्रति असन्तुष्ट रहँदै आएका थिए। पार्टीभित्र निरन्तर असन्तोष बढेपछि र अस्तित्व संकट गहिरिँदै गएपछि उनीहरू अन्ततः एमाले फर्किएका हुन्।
एमाले फर्किएका यी नेताहरूले अब पार्टीको आगामी राजनीतिक यात्रामा सक्रिय भूमिकामा रहने प्रतिबद्धता जनाएका छन्।







प्रतिकृया