३८ घण्टादेखि बन्द रहेको मुग्लिन नारायणगढ सडकखण्ड ३ बजेसम्म खुलाउने प्रयास, सडकमै रोकिए यात्रुहरू
प्रकाशित मिति
२०८२ आश्विन ५ गते, आईतवार १०:५९
चितवन । झण्डै ३८ घण्टादेखि अबरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड खोल्ने प्रयास तीव्र पारिएको छ। असोज ३ गते साँझ ६ बजे गएको ठूलो पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, पहिरो मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ, तुइन खोलाको पूर्वतर्फको भागमा निरन्तर झरिरहेको छ। कार्यालयका इन्जिनियर कृष्ण आचार्यका अनुसार आज बिहान ६ बजेदेखि नै पहिरो हटाउने काम भइरहेको छ र अवस्था अनुकूल रहेमा आज दिउँसो ३ बजेसम्म सडक खुलाउने तयारी गरिएको छ।
इन्जिनियर आचार्यले भने,“अहिलेसम्म पनि सडकमा करिब ३५ मिटरको पहिरो डिपोजिट छ। माथिल्लो भागमा पत्रे चट्टान भएकाले पहिरो हटाउन कठिन भएको छ। बेलाबेलामा पहिरो झरिरहेकाले जोखिम कायमै छ।”
हाल मुग्लिन र नारायणगढतर्फबाट २/२ वटा मेसिन प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ। थप मेसिन राख्न ठाउँ अभाव भएकाले उपलब्ध ४ वटा मेसिनमार्फत काम भइरहेको डिभिजन कार्यालयले जनाएको छ। भरतपुरबाट जाने सवारीहरू टाँडी, भण्डारा, आँपटारी, जुगेडी, रामनगर क्षेत्रमा रोकिएका छन्। काठमाडौंबाट आउने सवारीहरू कुरिनटार, मुग्लिन, फिस्लिङमा रोकिएको छ।
सडकमै रोकिएका यात्रुहरूका लागि सामाजिक संघसंस्था, स्वयंसेवी समूह र व्यवसायीहरू सक्रिय छन्। मुग्लिन बजारमा: जेसीज इच्छाकामनाको अगुवाइमा यात्रुहरूलाई निःशुल्क पानी, खाना र खाजा वितरण गरिएको छ। नारायणगढतर्फबाट विभिन्न संघसंस्थाको सहयोगमा चाउचाउ, बिस्कुट र पानी बाँडिने काम भइरहेको छ।






प्रतिकृया