• ३ असोज २०८३, शनिबार
  • ६ः४४ बेलुका

देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

प्रकाशित मिति

२०८२ भाद्र १६ गते, सोमबार ०९:०७

भदौ  १६,२०८२ काठमाडौं – नेपालमा सक्रिय मनसुनको प्रभावसँगै आज (सोमबार) देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

National Life

मौसमविद्हरूका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा छ भने अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह भइरहेको छ। यसको प्रभावले विशेषगरी वाग्मती र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने सम्भावना छ।

विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा पहाडी र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षा पर्न सक्ने अनुमान गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

मौसमविद् प्रतिभा मानन्धरका अनुसार काठमाडौं उपत्यकामा पनि दिउँसो १२ बजेपछि हल्का वर्षा पर्न सक्छ। उनले भनिन्, “काठमाडौंमा दिउँसो र राति नै बदली रहनेछ र हल्का वर्षा पर्ने सम्भावना छ।”

सुदूरपश्चिम प्रदेशमा भने आज तुलनात्मक रूपमा धेरै वर्षा हुने देखिएको छ। मानन्धरका अनुसार हिजो पनि सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा मापन भएको थियो।

विभागले राति देशभर बदली रहने अनुमान गरेको छ। सुदूरपश्चिम प्रदेशका केही स्थान, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका साथै अन्य पहाडी भू–भागमा मध्यम वर्षा हुन सक्ने बताइएको छ। त्यस्तै तराईका केही स्थानमा पनि मध्यम वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ।

प्रतिकृया