• २३ भदौ २०८३, मंगलबार
  • २ः५१ दिउँसो

भक्तपुरमा झुन्डिएको अवस्थामा मृत भेटिएका दिदीबहिनीको शव पोस्टमार्टमका लागि पठाइयो

प्रकाशित मिति

२०८२ श्रावण ९ गते, शुक्रबार १२:५९

श्रावण ९,२०८२ काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–८, बोडे सिन्टीटारमा झुन्डिएको अवस्थामा मृत फेला परेका किशोरी दिदीबहिनी मेनुका कँडेल (१५) र सिर्जना कँडेल (१३)को शव पोस्टमार्टमका लागि पठाइएको छ। बिहीबार बिहान ६:४५ बजे चक्रधर प्रजापतिको घरको भुइँतलामा उनीहरू मृत अवस्थामा भेटिएका थिए। उनीहरू फलामको डन्डीमा नाइनलको डोरी पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका थिए। प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज, दुवाकोट पठाइएको हो।

National Life

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार, राति ११ बजे आफन्त आइपुगेपछि शव मुचुल्का गरेर पोस्टमार्टमका लागि अस्पताल पठाइएको हो। मृत्युको यकिन कारण भने पोस्टमार्टम रिपोर्टपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।

मृत किशोरीहरूको स्थायी ठेगाना सुर्खेतको पञ्चपुरी नगरपालिका–८ रहेको छ। उनीहरू करिब १५ दिनअघि मात्रै सिन्टीटारस्थित घरमा डेरा बस्न आएका थिए। घरबेटीलाई उनीहरूले कलेज पढ्न आएको बताएका थिए। यता, मृतकका बाबुआमाले भने आफ्ना छोरीहरूलाई भारतको मुम्बईस्थित होटलमा जबर्जस्ती काम लगाइएको आरोप लगाएका छन्। करिब तीन साता अगाडि मुम्बईको मीरा भाइन्दरबाट हराएका उनीहरूले आमालाई ‘बैंगलोर जाँदैछौं’ भन्ने म्यासेज पठाएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

मृत्युको खबर आउनु केही दिनअगाडि उनीहरूका बाबुआमाले छोरीहरूको खोजी गर्दै एक अनलाइन टेलिभिजनमा साक्षात्कार दिएका थिए। त्यस अन्तर्वार्तामा होटल सञ्चालकले सीसीटीभी नभएको स्थानमा काम लगाएको आरोप समेत लगाइएको थियो। हाल घटनाबारे थप अनुसन्धान भइरहेको र प्रहरीले यस विषयमा थप जानकारी नभएको जनाएको छ।

प्रतिकृया