२६ वर्षपछि हुम्लामा राष्ट्रिय सडक सञ्जाल पुग्न लाग्यो: प्रधानमन्त्री ओली
प्रकाशित मिति
२०८२ असार १३ गते, शुक्रबार १२:२४
असार १३ , २०८२ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको सदरमुकाम सिमकोट केही दिनमै राष्ट्रिय सडक सञ्जालसँग जोडिने जानकारी दिएका छन्। सामाजिक सञ्जालमार्फत जानकारी दिंदै उनले दशकौँदेखिको सपना अब साकार हुन लागेको उल्लेख गरेका छन्।
प्रधानमन्त्री ओलीले लेखेका छन्, “हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ। हुम्लामा सडक सञ्जाल पुर्याउने हाम्रो दशकौँ पुरानो सपना पूरा हुँदैछ।”
उनका अनुसार सिमकोटमा सडक सञ्चालन भएपछि नेपाल हिल्सा नाकामार्फत छिमेकी राष्ट्र चीनसँग प्रत्यक्ष रूपमा जोडिनेछ, जसले व्यापार, आवागमन र कूटनीतिक सम्बन्धमा नयाँ आयाम थप्नेछ। प्रधानमन्त्री ओलीले २६ वर्षको प्रतीक्षापछि हुम्लामा सडक सञ्जाल पुग्न लागेको भन्दै यसलाई ऐतिहासिक उपलब्धि भनेका छन्।
सरकारका अनुसार सडक निर्माणको अन्तिम चरणमा काम भइरहेको छ र केही दिनभित्रै मोटर सवारी हुम्लाको सिमकोट पुग्नेछ। यस अघि हुम्ला नेपालको एकमात्र जिल्ला थियो जुन अहिलेसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको थियो। यस उपलब्धिले स्थानीय जनजीवनमा उल्लेखनीय सुधार ल्याउने विश्वास लिइएको छ।






प्रतिकृया