• ३ असोज २०८३, शनिबार
  • ४ः२५ बेलुका

सार्वजनिक खरिदमा अनियमितता

प्रकाशित मिति

२०८२ जेष्ठ ५ गते, सोमबार ११:१३

काठमाडौं -अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा १२ जिल्लाका स्थानीय तहविरुद्ध एक हजार पाँच सय ६४ वटा उजुरी दर्ता भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयका प्रहरी नायब उपरीक्षक राजीव श्रेष्ठका अनुसार कार्यालय मातहतका जिल्लाहरूमध्ये रौतहट, बारा र पर्साका स्थानीय तहमा सबैभन्दा बढी उजुरी परेका छन्।

National Life

प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए अनुसार चालु आर्थिक वर्षको १० महिनामा रौतहटका स्थानीय तहसम्बन्धी चार सय ३० वटा उजुरी दर्ता भएका छन्। त्यसैगरी, बारामा तीन सय ९७ र पर्सा जिल्लामा तीन सय ५२ वटा उजुरी परेका छन्। कार्यालय मातहत सबैभन्दा कम उजुरी भने रामेछाप र रसुवा जिल्लामा परेको छ, जहाँ १० महिनामा तीन-तीन वटा मात्रै उजुरी दर्ता भएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयका प्रमुख उमाकान्त आचार्यले स्थानीय तहमा विधिको शासन र सुशासन कायम राख्न आवश्यक रहेको बताए। उनले मधेश प्रदेशका स्थानीय तहमा भएका विकृतिका उजुरीको संख्या उच्च रहेको उल्लेख गर्दै स्थानीय तहले सुशासन कायम गर्दै देखिएका विकृति र विसङ्गतिको अन्त्य गर्नुपर्नेमा जोड दिए। आचार्यले अख्तियारमा उजुरी पर्दैमा डराउन नपर्ने धारणा पनि व्यक्त गरे।

Classic Tech Mobile
Classic Tech Desktop

प्रहरी नायब उपरीक्षक श्रेष्ठले स्थानीय तहमा सार्वजनिक खरिद प्रक्रियाका विषयमा धेरै प्रकारका उजुरी आउने गरेको बताए। उनले भने, “स्थानीय तहमा विशेष गरेर सार्वजनिक खरिद र निर्माण प्रक्रियामा उजुरी धेरै आउने गरेका छन्। गलत इष्टिमेट तयार पार्ने, खरिद प्रक्रिया र कानुनको परिपालन गर्ने संस्कारको निकै कमी देखिएको छ। उपभोक्ता समितिले जिम्मा लिएको काम अर्को ठेकेदारमार्फत गराउने गलत प्रवृत्ति पनि विकास भइरहेको छ।” गत आर्थिक वर्षमा कार्यालय मातहतका १२ जिल्लामा नौ सय १८ वटा उजुरी अख्तियारमा परेका थिए।

नायब प्रहरी उपरीक्षक श्रेष्ठले अख्तियार कार्यालय हेटौँडाले चालु आर्थिक वर्षको १० महिनामा एक हजार ३९ वटा उजुरी फछ्र्यौट गरेको जानकारी दिए। जबकि गत आर्थिक वर्षभरिमा भने चार सय ५४ वटा उजुरी मात्रै फछ्र्यौट भएका थिए। कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिनामा पाँच सय २५ वटा उजुरी फछ्र्यौट गर्न बाँकी छ भने गत आर्थिक वर्षका चार सय ६४ वटा उजुरी पनि फछ्र्यौट हुन बाँकी छन्।

हेटौँडा कार्यालय मातहत मधेश प्रदेशका तीन जिल्ला र बागमती प्रदेशका नौ जिल्ला पर्दछन्, जसमा रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र रामेछाप जिल्ला रहेका छन्।

प्रतिकृया