राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीको पदको रुपमा पाएको उपहार राज्यको हुन्छ- सांसद सिंह
प्रकाशित मिति
२०८२ बैशाख १४ गते, आईतवार ०२:३७
वैशाख १४, २०८२ काठमाडौँ: स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायत सार्वजनिक पदको नाममा आउने विदेशी उपहार आफ्नो घरमा लगेको भन्दै आपत्ति जनाएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले पदको नाममा आएको उपहार नेताहरुले आफ्नो घरमा लानु मानसिक भ्रष्टाचार भएको बताउदै अहिले नेपालका पूर्वप्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वपरराष्ट्रमन्त्रीलगायतको घरमा पदमा रहँदा डिम्लोम्याटले दिएको उपहार रहेको बताए ।
उनले भने- ‘राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्री यो पद सार्वजनिक हो कि व्यक्तिगत हो ? यदि सार्वजनिक पद हो त कुनै देशको डिप्लोम्याट आउँदाखेरी जुन उपहार दिन्छ, त्यो प्रधानमन्त्रीजी, परराष्ट्रमन्त्रीजीको निजी हुन्छ कि, देशको सम्पत्ति हुन्छ ? उहाँहरु विदेश जाँदा राज्यको ढुकुटी, जनताको करबाट उपहार दिने । विदेशीले उपहार दिँदा उहाँको घर–घरमा । जम्मै पूर्व प्रधानमन्त्रीको घरमा प्रधानमन्त्रीको रुपमा दिइएको उपहार भेटिन्छ । यो एउटा मानसिक भ्रष्टाचार हो । त्यसो भए विदेश जाँदा आफ्नो निजी सम्पत्तिबाट उपहार दिउँ ।’
छिमेकी मुलुक भारतमा पनि यसरी आउने उपहार राख्ने संग्राहलय रहेको बताउँदै उनले नेपालमा पनि तत्काल व्यवस्था गरिनुपर्ने भन्दै उनले भने- ‘राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीको पदको रुपमा पाएको उपहार राज्यको हुन्छ । त्यसको लागि संग्राहलय बनाऔं । भारतमा पनि छ, प्रधानमन्त्रीलाई दिने सबै उपहारको प्रधानमन्त्री संग्राहलय छ । यो मानसिक भ्रष्टाचार हो, यसको अन्त्य गर्नुपर्यो ।’






प्रतिकृया