त्रिवि केन्द्रीय क्याम्पसमा आज स्ववियु निर्वाचन हुदै
प्रकाशित मिति
२०८१ चैत्र १८ गते, सोमबार ०८:४१
चैत्र १८, २०८१ काठमाडौँ: त्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा स्ववियु निर्वाचन आज हुदै छ ।
मतदान स्थल त्रिवि कीर्तिपुरको शिक्षाशास्त्र केन्द्रीय विभागमा रहेको र निर्वाचन बिहान ८ देखि अपरान्ह ४ बजेसम्म हुने निर्वाचन अधिकृत प्रा.डा. कृष्णप्रसाद न्योपानेले जानकारी दिएका छन् ।
यसअघि चैत ८ गतेका लागि तोकिएको निर्वाचन उच्च अदालत, पाटनको अल्पकालीन अन्तरिम आदेशका कारण स्थगित गरिएको थियो । उक्त विवादमा शुक्रबार अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने भन्दै अर्को आदेश जारी गरेपछि आज निर्वाचन हुन लागेको हो ।
त्रिभुवन विश्वविद्यालय क्याम्पसमा अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परेको छ ।
जसमा अनेरास्ववियुबाट सिद्धान्त भट्ट, नेपाल विद्यार्थी सङ्घबाट दीपकराज जोशी, अनेरास्ववियु (क्रान्तिकारी) बाट प्रविन दाहाल, स्वतन्त्र विद्यार्थी समूहबाट दिनेश कार्की, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घबाट विलम सुवाल, नेपाली विद्यार्थी मञ्चबाट अक्कल रानाभाट, नयाँ शक्ति विद्यार्थी युनियनबाट नरेन्द्रसिंह महरा, स्वतन्त्र विद्यार्थी (त्रिवि) बाट उज्जलबहादुर खड्का, स्वतन्त्रबाट पद्मा भुसाल, सनम वली र दिप्रसन केसीलगायतले उम्मेदवारी दर्ता गराएका छन् ।
त्रिवि केन्द्रीय क्याम्पसमा छ हजार १४६ मतदाता रहेका छन् ।






प्रतिकृया