• 3:33 pm

खो खो विश्वकपको फाइनलमा नेपालको पुरुष र महिला दुवै टिमको प्रतिद्वन्दी भारत

प्रकाशित मिति

२०८१ माघ ६ गते, आईतवार १२:४१

माघ ६, २०८१ काठमाडौँ: नेपाली राष्ट्रिय पुरुष टिमले खो खो विश्वकपको उपाधिका लागि आज घरेलु टोली भारतसँग प्रतिस्पर्धा गर्दै छ । हिजो भएको सेमिफाइनलमा नेपालले उपाधि दाबेदार इरानलाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।

भारतले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई २० अंकले हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गरेको थियो । नेपालले भारतसँग पराजित हुँदै विश्वकप यात्रा सुरू गरेको थियो ।

समूह चरणमा भारतसँगको हारपछि नेपालले उत्कृष्ट पुनरागमन गरेको थियो । समूह चरणमा नेपालले पेरु, ब्राजिल र भुटानलाई हरायो । क्वार्टरफाइनलमा बंगलादेशमाथि जित दर्ता गरेको थियो ।

फाइनल खेल नेपाली समयअनुसार राति साढे ८ बजे सुरू हुनेछ । आजै नेपालको महिला टोलीले पनि भारत विरुद्ध नै महिलातर्फको उपाधिका लागि खेल्दै छ ।

नेपालले सेमिफाइनलमा युगाण्डालाई पराजित गर्दै फाइनलमा पुगेको हो भने भारतले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । प्रतियोगितामा अपराजित रहँदै दुवै टोली फाइनलसम्म पुगेका हुन् ।

नेपालले समूह चरणमा भुटान, बंगलादेश र जर्मनीलाई पराजित गरेको थियो । क्वार्टरफाइनलमा इरानलाई हराएको थियो ।

प्रतिकृया