• ८ असोज २०८३, बिहीबार
  • १०ः१९ राती

बङ्गलादेशमा सुरक्षाको माग गर्दै प्रदर्शनको नेतृत्व गरिरहेका ‘हिन्दू साधु’ पक्राउ

प्रकाशित मिति

२०८१ मंसिर ११ गते, मंगलवार ०१:२८

मंसिर ११, २०८१ ढाका : बङ्गलादेशमा अल्पसङ्ख्यक समुदायको सुरक्षाको माग गर्दै भइरहेको प्रदर्शनको नेतृत्व गरिरहेका एक हिन्दू समुदायका एक साधुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

National Life

वरिष्ठ प्रहरी जासुस रेजाउल करिम मल्लिकले एएफपीलाई बताएअनुसार नवगठित हिन्दू समूहका प्रवक्ता चिन्मय कृष्ण दास ब्रह्मचारीलाई ढाकाबाट पक्राउ गरिएको हो ।

लामो समयदेखि सत्ताको बागडोर सम्हालेकी प्रधानमन्त्री शेख हसिनालाई विद्यार्थी नेतृत्वको अगष्ट क्रान्तिले सत्ताच्युत गरेपछि १७ करोड जनसङ्ख्या रहेको बङ्गलादेशमा धार्मिक सम्बन्ध तनावपूर्ण बनेको छ । हसिनालाई सत्ताच्युत गरिएपछिका दिनहरूमा हिन्दूहरूमाथि प्रतिशोधको शृङ्खला बढेको देखिन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

ढाका प्रहरीका प्रवक्ता तालेबुर रहमानले ब्रह्मचारीलाई पक्राउ गरिएको पुष्टि गरे । तर उनीमाथि लगाइएका आरोपबारे विस्तृत विवरण भने दिन चाहेनन् ।

गत अक्टोबरमा ब्रह्मचारीले चटगाउँ शहरमा एक विशाल र्‍यालीको नेतृत्व गरेपछि उनीविरुद्ध मुद्दा दायर गरिएको थियो । उनीमाथि बङ्गलादेशको राष्ट्रिय झण्डाको अनादर गरेको आरोप लागेको थियो ।

बङ्गलादेशसम्मिलित सनातन जागरण जोते समूहका ब्रह्मचारीलाई राजधानी ढाकाबाट चटगाउँतर्फ जाँदै गर्दा पक्राउ गरिएको समूहका एक वरिष्ठ नेताले एएफपीलाई जानकारी दिए ।

समितिका सदस्य प्रशान्तकुमार हल्दारले एएफपीसँग भने, ‘उहाँमाथि लगाइएको आरोपबारे हामीलाई जानकारी छैन । जोते समूहले ब्रह्मचारीको रिहाइको माग गर्दै मङ्गलबार र्‍याली निकाल्नेछ, हामी देशभर उहाँको समर्थनमा ऐक्यवद्धता जनाउन देशभर मानव साङ्लोमा सामेल हुन आग्रह गर्दछौं ।’

धार्मिक अल्पसङ्ख्यकलाई समर्थन गर्ने बङ्गलादेशको हिन्दू, बौद्ध, क्रिश्चियन युनिटी काउन्सिलले ब्रह्मचारीको गिरफ्तारीको निन्दा गरेको छ । ब्रह्मचारी नयाँ समूहमा सामेल हुनुअघि हरे कृष्ण आन्दोलन भनिने अन्तर्राष्ट्रिय कृष्ण चेतना समाज (इस्कोन)का सदस्य थिए ।

बङ्गलादेशमा अल्पसङ्ख्यक धर्मावलम्बीहरूमध्ये सबैभन्दा बढी प्रभाव हिन्दू समुदायको छ अर्थात् यहाँको जनसङ्ख्याको लगभग आठ प्रतिशत हिन्दू छन् ।

प्रतिकृया