• 6:00 am

प्यूठानको देवीस्थानमा खोटो गोदाममा भीषण आगलागी

प्रकाशित मिति

२०८१ बैशाख ८ गते, शनिबार ०६:०५

वैशाख ८, २०८१ दाङ : प्यूठानको माण्डवी गाउँपालिका–३ देवीस्थानस्थित सल्लाको खोटो संकलन गरेर राखिएको गोदाममा भीषण आगलागी भएको छ ।

दिउँसो साढे २ बजेबाट सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन नसकेको स्थानीय पत्रकार लवदेव अधिकारीले जानकारी दिए । उनका अनुसार अहिले देवीस्थान बजारनजिकको जंगलमा आगो फैलिएको छ ।

बजार र बस्ती आगलागीको जोखिममा परेको र आगो नियन्त्रणका लागी सबैखाले प्रयास भइरहेको छ। ‘खोटोको गोदाममा आगलागी भयो। त्यो आगो अहिलेसम्म निभेको छैन,’ अधिकारीले भने,‘खोटोबाट सुरु भएको आगो वनमा पनि फैलिएको छ ।’

आगो नियन्त्रणको प्रयास भइरहेको छ। प्यूठान नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन भएको छ। झण्डै ८० लाख बराबरको खोटो जलेर नष्ट भएको जनाइएको छ ।

स्थानीयका अनुसार आगो देवीस्थान बजारको माथिल्लो जंगलमा लागिरहेको छ। स्थानीयहरुले घरबाहिर निस्केर आगो निभाउने प्रयास गरिरहेको स्थानीय बासिन्दा दीपा घिमिरेले बताइन् ।

‘आगो बस्तीमा आउने जोखिम छ। हामी सबै आगो निभाउन खटिएका छौँ,’ घिमिरेले भनिन्,‘सबैको प्रयास जारी छ ।’

प्रतिकृया